संस्थापक थापाका निधनमा विवेकशील साझाको शोक वक्तव्य


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १८, २०७८

  • काठमाडौँ, १८ जेठ । विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ । पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो । पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।

    नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेल्नुभएको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।’

    संस्थापक थापाले अँगालेका सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ । पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट