लकडाउनमा कोही भोकै छ ? एक कलको भरमा सेवामा तल्लिन छन् यि युवाहरु


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २३, २०७८

  • नरेन्द्र रौले

    काठमाडौं, २३ जेठ । लकडाउनको समय कतिलाई पट्यारलाग्दो बनिसकेको छ । झन् एक महिना भन्दा लामो समय घरभित्र थुनिएर बस्नु पर्दा ? भन्नै परेन, एकदमै बोर….. हुन्छ । कता जाउ, के गरौं जस्तो उकुसमुकुस हुन्छ । योगेश्वर अमात्यको गीतले भने जस्तो, ‘क्या बोर भयो…………..’

    तर, केही यस्ता युवाहरु छन्, जसले लकडाउनको समय भरपुर सदुपयोग गरिरहेका छन् । कोरोना महामारीले कैयौं नागरिकहरु भोकसँग जुधिरहेका छन् । धेरैको चुल्हो निभेको छ । शहरमा आर्थिक अभावले छाक टार्नै धौधौ हुनेको संख्या ठूलो छ । अभाब र समस्यासँग संघर्षरत तिनै मानिसहरुको सेवामा छन्, पाटनका केही युवाहरु ।

    जस्तो मनिष बहादुर शाहीकै कुरा सुनौं न । ललितपुर, तापाहिटी, ११ पाटनका स्थानीय वासिन्दा यि युवाले लकडाउनको पाँच दिनपछि राहत तथा खाद्यान्न वितरण गर्ने अभियान थाले । आफ्नो घर, परिवार, छरछिमेक र विदेश बस्ने आफन्तहरुको सहयोगमा उनले यो अभियान थालेका हुन् । उनलाई साथ दिईरहेका छन् नजिकका साथीहरु आशिष राई, राजुजंग खड्का, रोशन श्रेष्ठले । फ्रन्टलाईनमा खटिएका यी युवा बाहेक यस अभियानमा दिपक घिमिरेले पनि साथ दिईरहेका छन् ।

    लकडाउनमा खासै अरु काम नभएपछि मनिषले यसो विचार गरे, यो बिपत्तिमा त सेवाको काममा लाग्नैपर्छ । उनले साथीभाई, नजिकका आफन्त र परदेशमा बस्ने नेपालीसँग छलफल गरे । सबैले सकेको योगदान गर्छौं भनेपछि उनी अगाडी बढे । टोल, छरछिमेकीले पनि साथ दिएपछि त उनको आँट बढिहाल्यो । यसरी सुरु भयो दोस्रो लकडाउनपछि विपदमा परेकाहरुलाई सेवा गर्ने अभियान । यो पटक काठमाडौं उपत्यकाका बिभिन्न स्थान गरेर ५ सय भन्दा बढीलाई राहत तथा खाद्यान्न बाँडिसकेको मनिष सुनाउँछन् । ‘जहाँ आबश्यक छ, त्यहाँ पुगेर सहयोग गर्छौं ।’ उनी भन्छन्, ‘मन्दिर गएर पूजा गर्दैमा धर्म कमाईन्छ भन्ने होईन ।

    अभावमा परेका मानिसको सेवा गर्दा पनि धर्म कमाईन्छ ।’ मनिष पहिलेदेखी समाजसेवामा सक्रिय थिए । कोही मर्दा पर्दा त्यहाँ पुग्थे । तीन वर्ष युकेमा बसेर फर्किएका उनी आफूलाई कोमल मन भएको व्यक्ति भन्न रुचाए । उनलाई स्यान्डी विच रिसोर्टका सञ्चालक दाई मनोजको पनि ठूलो सहयोग छ ।

    दोस्रो लकडाउन सुरु भएपछि सबैभन्दा समस्यामा काम गरेर खाने वर्गलाई असर पर्‍यो । त्यसमा मूर्तिको काम गर्ने, ज्यामी, मजदुर, सुत्केरी महिला र वालवालिकालाई धक्का पुग्यो । मुटु रोगी, मृगौला फेल भएकाहरुको त झन् बिजोग भएको देखियो । राजधानीमा मात्र होईन यी युवाहरुको समुहले दोलखाको मालुङ गाउपालिकाका १२ परिवारलाई पनि खाद्यान्न सहयोग गरे । ‘लकडाउनमा कोही भोकै बस्न नपरोस् भन्ने मान्यता हो । सेवा नै त धर्म हो नि यसै समुह राजुजंग खड्काले भने । त्यसैले त उनीहरु हरेक दिन सक्रिय छन् । अभाब, समस्या परेका ठाउमा जतिसुकै जटिलता भएपनि पुगिरहेकै हुन्छन् । लगभग एउटै उमेर समुहका मनिष, राजुजंग, रोशन, दीपक जिग्री दोस्त हुन् । आआफ्ना व्यवसायमा उनीहरु सक्रिय छन् ।

    यो अभियानमा झम्सिखेलस्थित चिकेन स्टेशन र सञ्चालक निकेश ताम्राकार ठूलो सहयोग पुर्‍याएका छन् । ठाउ, चुल्हो, खानेकुरा प्याकिङ्गमा चिकेन स्टेशनले ठूलो सहयोग पुर्‍यायो । सामान राख्न स्टोर र काम गर्नका लागि कर्मचारी पनि उपलब्ध गराएर सञ्चालक निकेशले ठूलो गुन लगाएको यी युवाहरुले खुब सम्झिए । ‘निकेश दाई विशेष धन्यबाद भन्न चाहन्छौं ।’ न्युरोड निवासी रोशन श्रेष्ठले भने ।
    हरेक दिन क–कसलाई सहयोग गरियो ? त्यसबारे मनिषले आफ्नो फेसबुकमा अपडेट गर्छन् । यसले गर्दा कैयौं युवाहरुलाई प्रेरणा मिल्छ, उनीलाई सकारात्मक पाठ हुन्छ भन्ने लाग्छ । पोहोर सालको लकडाउनमा बसन्तपुर, टुडिखेल, खुलामञ्च पनि यो समुहले राहत र खाद्यान्न बाडेको थियो । बिपतको यो बेला उनीहरुले मानिस मात्र होइन पशुपंक्षीहरुसलाई खाना खुवाए । ‘मठमन्दिरमा गएर राती त्यहा आश्रय लिएकाहरुलाई पनि खाना खुवायौं ।’ रोशनले सुनाए ।

    जे होस् बिपतका बेला कसैले म्यासेज र फोन गर्ने बित्तिकै मनकारी यि युवाको टोली त्यहाँ पुगिहाल्छ । धन हुनेले पनि यस्तै मन राखिदिए कत्तिले राहत पाउँथे !

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट