ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २६, २०७८

  • काठमाडौँ, २६ जेठ । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो ।

    नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । ‘कविता प्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ’, अध्यक्ष बस्नेतले भने ।

    नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकमाथि कतिपय स्थानमा अपमानजनक व्यवहार तथा शब्दहरू प्रयोग हुँदै आएकाले यस्ता प्रकारका गलत काम रोक्न उक्त प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सहभागी हुने विद्यार्थीले जेठ २८ गते साँझ ४ बजेसम्म आफ्नो विद्यालयमा नाम दर्ता गरिसक्नुपर्ने श्रेष्ठले बताए । बढीमा चार मिनेटभित्र कविता सम्पन्न गर्नुपर्ने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् ।

    प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु आठ हजार,दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्त्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार