कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २६, २०७८

  • कर्णाली, २६ जेठ । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

    ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

    ‘नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ’, कृषिमन्त्री शाहीले भने, ‘कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो ।’

    उनले भने, ‘मन्त्रालयले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, कृषि मन्त्रालयअन्तर्गत जिल्लामा रहेका कृषि कार्यालय र यस प्रदेशका कृषि विज्ञ, अध्येता र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर नीतिगतरूपमा योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ । ती योजनालाई नै प्राथमिकता दिएर प्रभावकारी कार्यान्वयनमा जोड दिनेछौँ ।’

    त्यसैगरी प्रदेश सरकारले ‘एक पकेट क्षेत्र, एक प्राविधिक, ‘एक वडा, एक सिँचाइ पोखरी’ कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उनका अनुसार कृषि क्षेत्रको दीगो विकास र समृद्धिका लागि बाली, बागवानी र पशु अनुसन्धान केन्द्रमा विशेष जोड दिइनेछ । पशु, तरकारी तथा फलफूल स्रोत केन्द्र, पुराना ब्लक कार्यक्रम, सहुलियत कर्जा, ब्याजमा अनुदान, लक्षित वर्ग कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    आगामी वर्ष सल्यानको कपुरकोटलाई तरकारी उत्पादन, रुकुमपश्चिमलाई दुग्ध प्रशोधन, जाजरकोटमा मौरी पालन, जुम्लामा स्याउ तथा ओखर उत्पादन क्षेत्रका रुपमा विकास गर्ने एवं मुगु र डोल्पामा चौँरी फार्म निर्माणमा जोड दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार