धनगढीमा ३५० पिन्ट रगत सङ्कलन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ ३०, २०७८

  • कैलाली, ३० जेठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो ।

    कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताउनुभयो । कोरोनाका कारणले मात्र अप्ठ्यारो परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायत अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने अभियान रहेको उहाँको भनाइ छ ।

    रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी बनाउन केही दिन समुदाय तथा वडास्तरमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ । एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भ्रातृ सङ्गठन, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार