खोप अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेसको सङ्गठन विभागको आग्रह


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १, २०७८

  • काठमाडौँ, १ असार । नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    ‘तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डनुसार समयमै दोस्रो खोप उपलब्ध गराउने विश्वासिलो आधार सरकारले बनाउन सकेन’, उनले भने । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि ठानेको लकडाउनलाई समेत सरकारले आफ्नो सत्ता लम्ब्याउन प्रयोग गरेको उनको भनाइ थियो ।

    नेता श्रेष्ठले कोभिड–१९ को सङ्कटसँग जुध्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सबै राजनीतिक दलको रहेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य थाले पनि नयाँ सरकार बन्ने अवसर हुँदाहुँदै सरकारले संसद् विघटन गरेको उल्लेख गरे ।

    पार्टीका पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठले पार्टीको विधान र संविधानअनुसार आगामी भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म पार्टीको १४ औँ महाधिवेशन हुने स्पष्ट पारे । महाधिवेशनको प्रस्तावित मितिबारे छलफल गरेर अन्तिम टुङ्गो लगाउन यही असार ३ गते बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न पनि सङ्गठन विभागले सबैलाई आग्रह गरेको छ ।

    नेता श्रेष्ठले वर्तमान कामचलाउ सरकारले गैरजिम्मेवारी काम गरिरहेको आरोपसमेत लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार