जोटुफ आवद्ध ट्रेड युनियनहरुको चेतावनी : टान फुड् बैंक वितरण तथा परिचालन सम्झौता अनुसार अगाढी बढाउ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार ४, २०७८

  • काठमाडौं, ४ असार । कोभिड १९ को कारण विश्व पर्यटन अस्तव्यस्त हुँदा नेपालको पर्यटन बजार अछुतो रहेन । नेपालको पर्यटन व्यवसाय अस्तव्यस्त भएको झण्डै दुई वर्ष पुग्नै लागेको छ । लामो समय पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार बने । कतैबाट उनीहरु सहायता पाएनन् ।

    ढिलै भए पनि ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो ४३ औं जन्मोत्सवको अवसर पारेर पर्यटन श्रमिकहरुलाई लक्षितका लागि टान फुड बैंक स्थापना गरेको थियो । टानको उक्त कदमलाई नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरु र श्रमिकले केहि आश गरेका थिए ।

    गत जेठ २७ गतेका ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानले संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) र अन्य ट्रेड युनियनहरुको उपस्थितिमा टान फुड बैंक वितरण तथा परिचालन कसरी गर्ने भनेर संयुक्त बैठक बोलाएको थियो । टान फुड बैंक वितरण गर्दा पर्यटन श्रमिकहरुको ट्रेकिङ्ग गाइडको लाइसेन्स, ट्रेकिङ्ग कम्पनीले जारी गरेको परिचयपत्र वा अन्य कुनै पनि माध्यमबाट पर्यटन श्रमिकको परिचय खुल्ने परिचयपत्रका मानवताको नातालाई समेत ध्यानमा राखेर परिचयपत्र नभएका सम्मलाई दिने गरी र श्रमिक बसोबास गर्ने ठाउको आधारमा विभिन्न ठाउबाट टान फुड बैंक वितरण गर्ने निर्णय गरेको जोटुफका अध्यक्ष दिपेन्द्र पाण्डे कपिलले बताए ।

    टान फुड बैंकको खाद्य सामाग्री वितरण गर्दा यसै असार १ मा केहि हदसम्म गत जेठ २७ को निर्णयलाइ मध्यनजर गरिएको थियो । तर, असार ३ गते टानमा दर्ता नविकरण भएका ट्रेकिङ्ग कम्पनीहरुले सिफारिस गरेको पर्यटन श्रमिकहरुलाई मात्र टान फुड बैंकको खाद्य सामग्री उपलब्ध गराउने टानले जनाएको छ । साथै टानले सूचना टाँस गरेरै नागरिकताको प्रतिलिपि वा पर्यटन श्रमिक परिचयपत्र र टानको सदस्य कम्पनीको सिफारिस माग गरेको छ । टानको यो एकल निर्णय गैर जिम्मेवारपूर्ण, जेठ २७ निर्णयको बर्खिलावपूर्ण रहेको जोटुफका सचिव तथा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) का अध्यक्ष रामकाजी तिवारी ‘प्रयास’ ले फ्रन्टलाइन नेपाल सँग बताए ।

    टानमा नविकरण नभएका कम्पनीहरुले सिफारिस गरेका र फ्रिलान्सर श्रमिकहरुलाई टान फुड् बैंकको खाद्य सामग्रीबाट बञ्चित गराउने टानको रणनिति प्रति जोटुफ र यसमा आबद्ध क्रियाशिल ट्रेड युनियनहरु घोर भत्सर्ना तथा खेद प्रकट गर्दै २०७८ जेठ २७ को निर्णय लागु गर्न जोड्दार माग गर्दै प्रेस विज्ञप्ती निकालेको जोटुफका सचिव प्रयासले बताएका छन् ।

    ०७८ जेठ २७ को निर्णय विपरित यही प्रक्रियाबाट टान फुड् बैंक वितरण तथा परिचालन अघि बढाइएमा जोटुफ र जोटुफमा आवद्ध पाँच वटा ट्रेड युनियनहरु सशक्त प्रतिवाद र प्रतिकार समेत गर्न बाध्य हुने र त्यसबाट हुन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी स्वयं टान हुनुपर्ने समेत जोटुफका सदस्यहरु तथा अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव सन्तोष ढकाल, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालका अध्यक्ष देवी गौली र समाजवादी पर्यटन श्रमिक ट्रेड युनियनका अध्यक्ष पुर्ण मोक्तानले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार