बागमती, २३ असार । वागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७र७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान गरिएको हो ।
समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ ।
यसअघि सो समूहले विसं २०५७ को सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार, २०५४ मा वन संरक्षण युवा पुरस्कार, २०६० मा वनदेवी पुरस्कार र दुई पटक जिल्लास्तरीय प्रथम पुरस्कार प्राप्त गरिसकेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । सालक संरक्षणमा अब्बल मानिएको यो समूहले सालक ‘केज’समेत बनाएको छ । ब्लक नं ६ लाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।
यसैगरी डिभिजन वन कार्यालय मकवानपुरले यस वर्षको कबुलियती वनतर्फको पुरस्कार वाग्मती गाउँपालिका–७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।