एक वर्षमा एक हजार व्यापारिक फर्म कारवाहीमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन ६, २०७८

  • काठमाडौँ, ६ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७र७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म, कम्पनी तथा उद्योग कारवाहीमा परेका हुन् ।

    एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो । विभागको तथ्याङ्कअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो ।

    कारवाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत रु दुई करोड ३९ लाख ८२ हजार बराबर राजश्व सङ्कलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा रु तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार