बुटवलमा अस्वस्थकर मासु बिक्री


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन १५, २०७८

  • रुपन्देही, १५ साउन । बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो । पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन समिति संयोजक आचार्यले जानकारी दिनुभयो । अनुगमनका क्रममा बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसललगायतका पसलबाट ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा, मासु नियन्त्रणमा लिएर नष्ट गरिएको उहाँले बताउनुभयो ।

    पसल सञ्चालकलाई स्वस्थकर मासु बिक्री गर्न तथा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । अनुगमनका क्रममा बुटवलको नेपालगञ्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइनस्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

    नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासु सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बिक्रीका लागि राखिएको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो । यस्तै बुटवलको सब्जीमण्डीमा रहेका सटरमा दुर्गन्ध फैलाउने गरी मासु पसल सञ्चालन भएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट