काठमाडौँ, ४ भदौ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानवअधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकको उद्धार र सकुशल स्वदेश फिर्ताका लागि आवश्यकताअनुसार अन्य मुलुकसँग समेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो ।
यसैगरी कोभिड–१९को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ । प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धिलगायत विभिन्न अन्तरराष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौँलागाई, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडाँै शाखा सभापति ईश्वर पुडासैनी सहभागी हुनुभएको थियो ।