कोरोना प्रभाव : रौनक हराएको भक्तपुरको गाईजात्रा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ७, २०७८

  • भक्तपुर, ७ भदौ । ‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’ । गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन । कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन् ।

    प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो । बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो । जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए । लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताउनुभयो ।

    मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गर्नुभएका उहाँले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताउनुभयो । नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताउनुभयो । जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताउनुभयो ।

    जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको बताउनुभयो । गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ । यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट