डुबानमा परेका १०४ को उद्धार


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ११, २०७८

  • कञ्चनपुर, ११ भदौ । दोदा नदीको बाढीबाट डुबानमा परेका पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् ।

    चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो । बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ । बाढीको पानीकै कारण आज दिनभर हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो । बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताउनुभयो । माटोको गा¥हो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन् ।

    घरमा फर्किने अवस्था नआउँदासम्म पीडितलाई खाना बस्न र औषधि उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो । डुबानमा परेका परिवारको खाद्यान्न, लताकपडा सबै कामै नलाग्ने अवस्थामा रहेको छ । दुई दिनदेखि लगातारको चुरे क्षेत्रमा भएको वर्षापछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका बस्ती डुबानमा परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट