एक वर्षमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १५, २०७८

  • चितवन, १५ भदौ। भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको हो । हाल अस्पतालमा कार्यरत डा रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

    अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल हुनुुभएको हो । विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा जगन्नाथ तिवारी मेसु हुनुभएको थियो । त्यसको तीन महिनापछि डा वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो । झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उहाँलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो ।

    सरकारले आइतबार प्रा डा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताउनुुभयो । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

    यो सङ्घीय अस्पताल हो । छ सय शै्ययाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार