काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १६, २०७८

  • काठमाडौँं, १६ भदौ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् ।

    सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् । काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् ।

    काठमाडौँ महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ । नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो ।

    काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार