पितृप्रतिको श्रद्धा भक्तिलाई रोकेन कोरोनाले


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २२, २०७८

  • काठमाडौँ, २२ भदौ । भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहनुभयो । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव मृगस्थलीमा मृगको रुपमा विचरण गरेको देवताहरुले थाहा पाएपछि खोजीमा ब्रह्मा, विष्णु र इन्द्र निस्कनुभयो । मृगस्थलीमा फरक रुपमा रहेको मृग नै शिव भगवान् हुनुहुन्छ भन्ने पहिचान भएपछि समातियो । मृगको सिङमा तीन जनाले समातेपछि भगवान् अलप हुनुभयो ।

    सिङ भाँचिएर तीन टुक्रा भयो । भगवान् महादेवको आज्ञा अनुसार ब्रह्माको हातको सिङलाई मत्र्यमण्डलस्थित गोकर्णमा स्थापना गर्ने आदेश भयो । यसै आदेश अनुरुप कालगणना क्रमानुसार एक अर्ब ९५ करोड वर्षअघि स्थापना भएको यसै लिङ्गलाई अहिले गोकर्णेश्वर महादेवका नाममा पूजा आराधना गरिन्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव स्थापना भएकाले यस दिन यहाँ मेला लाग्ने परम्परा बसेको यस क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउँनुहुन्छ । इन्द्रको हातमा रहेको सिङको टुक्रा स्वर्गमा स्थापना गरियो । विष्णुको हातमा रहेको सिङको टुक्रा पातालमा स्थापना गरियो । गोकर्णमा स्थापना गरिएको लिङ्गलाई श्रृङ्गेश्वर नामले पनि चिनिन्छ ।

    पितृ उद्धारका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा शिव, लिङ्ग, स्कन्दलगायत पुराणमा वर्णन गरिएको यो स्थलमा भाद्रकृष्ण औँसीमा तर्पण, सिदादान र पिण्डदान गरेमा २१ पुस्ताका पितृको उद्धार हुने धार्मिक विश्वास गरिन्छ । भारतवर्षमा दुई गया छन् । गोकर्णेश्वर उत्तरगयालाई शिरको गया भनिन्छ । यो गया वाग्मती, सूर्यमती र चन्द्रमती सङ्गमस्थलमा छ । गयालाई पितृको मुक्तिका लागि श्राद्ध गर्ने मुख्य स्थलका रुपमा लिइन्छ । यो क्षेत्रको शिर वाग्मती उत्तरवाहिनी भएर बगेको स्थल हो भने हृदय गजाधरनारायण भगवान्को मन्दिर रहेको स्थल हो । पाउ गोकर्णमुनिको हत्यामोचनघाटलाई मानिएको उहाँले सुनाउनुभयो । भारतको उत्तरप्रदेशमा रहेको गयामा श्राद्ध गर्न जानुअघि अनिवार्यरुपमा शिरको गया अर्थात् गोकर्णेश्वर क्षेत्रमा श्राद्ध गरेर जानुपर्छ । फल्गुनदीको किनारमा रहेको भारतको गयाका पण्डाले पनि नेपालको गया क्षेत्रमा श्राद्ध गर्नु भएको छ कि छैन ? भनी प्रश्न गर्ने गरेको पोखरेल बताउनुहुन्छ ।

    यहाँ भगवान् विष्णुको दायाँ पादुका रहेकाले पनि यस क्षेत्रको विशेष महत्व छ । फल्गुनदी किनारमा रहेको पादुका बाँया हो । पितृ उद्धारको महत्वपूर्ण तीर्थ गोकर्णेश्वर उत्तरगया क्षेत्र नेपालमा पर्ने भएपनि यसको प्रचारप्रसार विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बी र विशेषगरी भारतवर्षमा हुन सकेको छैन । यही तीर्थको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामकरण गरिएको छ । तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन । प्रचारप्रसारको अभावमा वर्षभर धार्मिक पर्यटक नआएपनि भाद्रकृष्ण औँसीका दिन भने यहाँ लाखौँको ओइरो लाग्छ । यस दिनका लागि यहाँ कसैले प्रचारप्रसार पनि गरेको हुँदैन । यस क्षेत्रको शास्त्रीय महत्वको प्रचारप्रसार गरे वर्षभर यहाँ पर्यटक आउँछन् । गोकर्णेश्वर महादेवको खोजीमा लाग्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बालयन्त्रको पूजा हुने यस स्थलको महत्व बुझाउन नसकिएको बताउनुहुन्छ ।

    पशुपतिनाथ मन्दिरमा श्रीयन्त्रको पूजा आराधना गरिन्छ । श्रीयन्त्रको पूजा आराधना गर्नेले बालयन्त्रको पूजा आराधना हुने स्थलको दर्शन नगरी फल प्राप्त नहुने धार्मिक मान्यता छ । यसैलाई प्रचारप्रसार गरी पशुपतिनाथ आएको धार्मिक पर्यटकलाई गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लैजाने योजना नगरपालिकाले बनाएपनि ठोस रुपमा कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना पशुपतिनाथ आएका धार्मिक पर्यटकलाई गोकर्णेश्वर लैजान विस्तृत परियोजना प्रस्ताव निर्माण भइरहेको बताउनुहुन्छ । प्रस्तावमा बन्ने योजना अनुरुप काम हुने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार