काभ्रेमा आपत्कालीन गोदाम घर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २८, २०७८

  • काभ्रेपलाञ्चोक, २८ भदौ । विपत्का घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्का समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारीदिनुभयो ।

    “उक्त घरमा विपत्मा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राख्नेछौँ, यो व्यवस्थापनले पीडितलाई निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्तघरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ । उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ ।

    उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपत्का घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ । खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट