यसरी मनाइयो ‘सिस्नो खोस्ने’ पर्व


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३०, २०७८

  • रामबहादुर थापा

    बागलुङ, ३० भदौ । भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर यहाँका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने सो पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक दुई वर्षमा सिस्नो खोस्ने पर्वको रौनक छाउँछ । शरद् ऋतुमा मनाइने भएकाले यसले पर्वमय यामको झल्को दिन्छ । स्थानीयवासी हर्षोल्लासपूर्वक पर्वमा भाग लिन्छन् । कुलपितृको उद्धार, जगत् भलो, सुख, ऐश्वर्य प्राप्त होस् । रोगव्याध नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् ।

    पन्र्धौं शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले पर्वको चलन बसालेका बताइएको छ । तारागाउँवासी सिस्नो खोस्ने पर्वलाई पुर्खाको नासोका रुपमा पुकार्छन् । संस्कृति धान्दै आएको मगर समाज भैलो टोलीका अध्यक्ष झकबहादुर घर्तीले भदौ शुक्लपक्षको शनिबारदेखि मङ्गलबारसम्म पर्व मनाउने प्रचलन रहेको जानकारी दिनुभयो ।

    ‘कोरोना महामारीको जोखिम छल्दै यसपालि पनि भदौरेलाई निरन्तरता दियौँ’, उहाँले भन्नुभयो । गाउँपालिकामा अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सङ्क्रमण घटेका कारण पनि पर्व चलाउन सहज भयो । ‘भदोरै पर्व हाम्रो इतिहास र परम्परासँग जोडिएको छ, यो हाम्रा शाखापुर्खादेखि नै चल्दै आएको हो,’ उहाँले भन्नुभयो ।

    पर्वको जगेर्नामा पुरानोदेखि नयाँ पुस्तासम्मको उत्तिकै सक्रियता छ । बर्सेनि पर्वको आयोजना र व्यवस्थापन मगर समाज भैलो टोलीले नै गर्दै आएको छ । ती समुदायका घरमा सन्तान लाभ हुँदा त्यहाँ पुगेर हर्षबढाइँ गर्ने र सोबापत सम्बन्धित परिवारले दिएको दक्षिणाबाट भैलो टोलीले आर्थिक जोहो गर्ने गरेको छ ।

    ‘भैलो, पुत्रबढाइँजस्ता कार्यबाट जुटेको सहयोगबाट नै पर्वहरु धान्ने काम भएको छ,’ अध्यक्ष घर्तीले भन्नुभयो । उहाँका अनुसार समाजको कोषमा झन्डै रु २० लाख छ । सिस्नो खोस्ने पर्व मात्र नभएर असारे मेला, माघेसङ्क्रान्ति, कात्तिके भुस पोल्ने मेलालगायत जात्रा र पर्वलाई पनि स्थानीयवासीले जोगाएका छन् । पहिले ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रुपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो जोडिएको छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने गरेको पाइन्छ ।

    पर्वलाई युवायुवतीबीच भेटघाट हुने, आत्मियता बढाउने अवसरका रुपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवापुस्ता अग्रसर हुनुपर्ने स्थानीयवासी पदम खत्रीले बताउनुभयो । नेपाल माध्यमिक विद्यालयका अध्यक्ष खत्रीले भुस पोल्ने पर्वले ताराखोलालाई सांस्कृतिक चिनारी दिएको उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार