बगर पन्छाएर घर बस्ने तयारीमा मनाङको तालगाउँवासी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज २४, २०७८

  • मनाङ, २४ असोज । गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले नासों गाउँपालिका–१ तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् । बाढीपहिराका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । यसरी तालगाउँवासी पूर्णरूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरु अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् ।

    उनीहरु बाढी पसेको बस्तीको घरमा रहेको गेग्रयान (बगर) फालेर बस्न मिल्ने गरी घरको पुनःनिर्माण गर्दैछन् । बाढीले घर नै बगाएका बाहेक परिवार त्रिपालमा नै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिट्टी, ढुङ्गाले पुरेको घरको गेग्रयान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् । यो बस्ती अझै पनि जोखिमपूर्ण भए पनि स्थानान्तरणको लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँवासी बताउँछन् । स्थानीय मीनराशी गुरुङ भन्नुहुन्छ, ‘तीन महिनासम्म त्रिपालमा बसियो । नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रयान फालेर बस्न थालेका छौँ । नहुनेहरु अझै पनि त्रिपालमा नै बस्न बाध्य छौँ । स्थानीय सरकारबाट केही सहयोग होला नि भन्ने आशा छ ।’ उहाँ गेग्रयान फाल्ने सामग्री नहुँदा पनि समस्या भएको बताउनुहुन्छ । आफ्ना सामग्री नदीमा आएको बाढीले बगाइदियो । बाँकी सामग्रीको सहयताबाट बस्ती बसाउने प्रयास गरिरहेको मीनराशी बताउनुहुन्छ ।

    त्यस्तै स्थानीयवासी गुरुप्रसाद गुरुङले भन्नुभयो, ‘घर सबै भत्काएको छ, घरमा आएर बसेका छौँ, स्थानीय सरकारले व्यवस्थित गरी बस्न सहज गराइदिए हुनेथियो भन्ने आशा छ । कोही आफन्तकोमा बस्दै आएको र सकेका व्यक्ति अझैपनि बाहिर नै बस्दै आएका छन् ।’ तीन महिना बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उहाँ बताउनुहुन्छ । अझै घर समेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधार नै नभएको उहाँको भनाइ छ । बस्ती बस्नका लागि अहिले घर बाँकी रहेकाले गेग्रायान फाल्ने काम पाएको गुरुङले बताउनुभयो । बाढीले तालगाउँवासीलाई बेतालको बनाइदिएको उहाँ बताउनुहुन्छ । भन्नेबित्तिकै न त घर नै अर्को ठाउँमा बनाउन सकिने रहेको छ । न पुरानो घरमा व्यवस्थित तरिकाले बस्न सक्ने अवस्थामा पुर्‍याएको उहाँको भनाइ छ । मौसमा परिवर्तनका कुरा गर्ने आफूहरुले सुन्ने गरेको भन्दै अझै पनि त्रास बढ्ने गरेको उहाँले बताउनुभयो ।

    नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा सबैतिर खुसीयाली छाएको भए पनि मनाङका बाढी प्रभावित ठाउँ अझैसम्म पनि दुःखमा छन् । बल्लतल्ल तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ तर स्थानीयवासीमा भने अझै खुसी पुग्न सकेको छैन । अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँवासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । ‘व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामा नै रहेका छौँ । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीयवासी फर्किएका हुन्,’ अध्यक्ष घलेले भन्नुभयो ।

    विभिन्न क्षेत्रसँग ताल गाउँवासीको व्यवस्थापनका सम्बन्धमा छलफल भने भइरहेको उहाँ बताउनुहुन्छ । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्नका लागि त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रुपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो ।

    नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ । तीन महिनादेखि मनाङवासीलाई त्रिपालको बास अन्य उपाय पहिचान गर्न सकेका छैनन् । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको छ । यसवर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार