काठमाडौं, २८ अशोज । दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दशैँ विशेष छ । अवसरजस्तो भएको छ । हामी अदालतको कर्मचारी, न्यायाधीशहरु दशैँमा पनि कामै गर्ने हो । दशैँमा पनि ड्युटी त छँदैछ । फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ । दशैँ बुढो सासुसँग बसेर काठमाडौंमै मनाउने योजना छ । घुमघाम भइरहेको छ । छुट्टि भएपछि हाइकिङ सुरु गरेको छु ।
विष्णुमतिको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो । आनी गुम्बा पनि जाने योजना छ । काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ । शनिबारै कुर्न परेन । दशैँ विदाले यो अवसर पनि जोडेको छ । मठ मन्दिरमा जाने समय पनि मिलेको छ । यसपालिको दशैँमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टीका थाप्ने, टीका लगाइदिने, नजिकै घुम्ने त्यहीँ नै कार्यक्रम छ । मैले सासुबाट टिका थाप्छु । अनि अरुलाई लगाइदिने हो । कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशिर्वाद लिने/दिने यसैगरी मनाइन्छ ।
फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तकहरु अध्ययन गर्ने समय छैन । मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरु, आर्टिकलहरु पढिरहेको छु । कानुनहरु समयानुसार परिवर्तन हुँदैछन् । तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौं ।
जस्तो रेप केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरु पढिरहेको छु । चाडपर्वलाई मैले संस्कृतिका रुपमा लिन्छु । जोडिने, विविधतामा एकता ल्याउने आधारका रुपमा हेर्छु । मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो । किनभने संस्कृति पनि एउटा एकतामा बाध्ने आधार हो ।