काठमाडौँमा चहलपहल बढ्यो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज ३०, २०७८

  • काठमाडौँ, ३० असोज । बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ ।

    यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ । उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रुपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

    ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ । उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार