ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक २४, २०७८

  • कर्णाली, २४ कात्तिक । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो । यही कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।

    उहाँले अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को हालसम्म नआएकाले पढाइ प्रभावित भएको गुनासो गर्नुभयो । उक्त विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले कक्षा ११ को पाठ्यपुस्तक आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको जानकारी दिनुभयो । उहाँको अनुसार दृष्टिविहीनहरूको अध्ययनको सहारा ब्रेल पाठयपुस्तक समयमै नआउने र पटक–पटक विद्यार्थीमा यो पीडा दोहोरिएको छ । यस वर्ष कोरोनाका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले सबैको हातमा पाठ्यपुस्तक पु¥याउने निर्णयसमेत गरेको थियो ।

    उहाँले भन्नुभयो, “नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् । सामान्यतया गत वर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । हामीले गत वर्ष साथीहरूको फोन र समन्वयका भरमा अध्ययन गरेका थियौँ । अहिले पनि पाठ्यपुस्तक नआउँदा समस्या भएको छ ।” सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बूले यस वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार पाठ्यपुस्तक नछापिएकाले देशभरका ती तहमा अध्ययन गर्ने विद्यार्थी अन्योलमा छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार