कर्णाली, २५ कात्तिक । कर्णाली प्रदेशका खसभाषी विज्ञले आजदेखि शुभारम्भ भएको जनगणनामा खसभाषीको तथ्य विवरण सङ्कलन गर्न सुझाव दिएका छन् । खसभाषीको बाहुल्यता रहेको कर्णाली प्रदेशमा विसं २०६८ को जनगणनामा खसभाषा बोल्नेको जनसङ्ख्या ३७ जना मात्र भएको तथ्याङ्कले राष्ट्रभाषामाथि नै अवमूल्यन भएको उनीहरुले टिप्पणी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्र खत्रीले २०६८ सालको जनगणनामा खसभाषीको तथ्याङ्कभन्दा मिथ्याङ्क अभिलेखीकरण हुँदा भुल भएको टिप्पणी गर्नुभयो । ।
“यसअघि भाषा आयोगले राष्ट्रिय जनगणना २०६८ लाई आधार मानेर कर्णालीमा १८ जनाले जुम्ली र १९ जनाले ‘खस’ भाषा बोल्छन् भन्ने तथ्याङ्क निकालेको थियो”, उपप्रध्यापक खत्रीले भन्नुभयो, “नेपाली भाषाको प्राचीनस्वरुप खस भाषा हो । यसको अस्तित्व जोगाउन, लोपोन्मुख हुन नदिन यसपालिको जनगणनामा मातृ तथा पुर्खाको भाषा के हो ? भन्ने प्रश्नको उत्तरमा खस भाषा उल्लेख गर्न अनुरोध गर्दछु ।” उपप्रध्यापक खत्रीले खस भाषाको गणनाका लागि यसपटक प्रश्नकर्ता र उत्तरदाता दुवैलाई ध्यान दिन सुझाउनुभयो । कर्णालीका संस्कृतिसम्बन्धी जानकार तथा खस भाषासेवी रमानन्द आचार्यले खसभाषाको अस्तित्व र पहिचान यथावत राख्न गणनामा अनिवार्य समेटिनुपर्नेमा जोड दिनुभयो । भाषासेवी आचार्यले गणकले खसभाषाको तथ्य विवरण आउने गरी उत्तरदातालाई प्रश्न गर्न आग्रह गर्नुभयो । “यसअघि खसभाषामा ३७ जनाले मात्र बोल्दछन् भनेर राष्ट्रिय जनगणनाको तथ्याङ्क भूल मात्र होइन, निकै दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “यो जनगणनामा त्यसो नहोस् ।” खसभाषीको तथ्याङ्कलाई त्रुटिरहित बनाउन जनप्रतिनिधिले पनि जोड दिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आजको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका जनगणना अधिकारी पोमनारायण पौडेललाई सबै गणकहरुलाई खसभाषा बोल्ने जनसङ्ख्याको यथार्थ विवरण आउने गरी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । “हामी आजभोलि पनि छकल (आज बिहान) बेलीबा (हिजो बेलुका) जस्ता शब्द संयोजित खसभाषा बोलिरहेका छौँ”, उहाँले भन्नुभयो, “यस्ता भाषा बोल्नेको सही तथ्याङ्क आउन कमजोरी हुनु हुँदैन ।” तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले यो जनगणनामा खसभाषामा जोड दिन उत्तरदातालाई अनुरोध गर्नुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “खसभाषा हाम्रो संस्कृति, सभ्यता, अस्तित्व र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो ।
यसको इतिहास, गौरव र विरासतलाई बचाइराख्न खसभाषीको तथ्यगत तथ्याङ्क जनगणनामा समेटिनुपर्दछ ।” कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलले मुख्यमन्त्रीको निर्देशनबमोजिम खसभाषीको तथ्यगत तथ्याङ्क आउने गरी काम गर्न सबै गणकलाई निर्देशन गरिएको बताउनुभयो । विसं २०६८ मा प्रश्नकर्ता र उत्तरदाताको कमजोरीले गणनामा सही तथ्याङ्क आउन नसकेको बताउँदै जनगणना अधिकारी पौडेलले यसपटक गणकलाई स्पष्ट बनाएर पठाइएको जनाउनुभयो ।
पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जनगणनाले नै खसभाषीको आधिकारिक तथ्याङ्क आउने बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीमा प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृभाषा भनिएको खस भाषा लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले सुझाएका छन् । उत्तरदाताका लागि मुख्य ३७ र सामुदायिक २१ गरी ५८ वटा प्रश्नावली रहेका छन् । कूल ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिने जनाइएको छ ।