वाग्मती प्रदेशमा पूँजीगत खर्च नहुने समस्या


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १४, २०७८

  • काठमाडौँ, १४ मङ्सिर । वाग्मती प्रदेशमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित लाभ प्राप्त हुन नसकेको पाइएको छ । पुँजीगत खर्च हुन नसक्ने नेपालको पुरानै प्रवृत्ति भए पनि सङ्घीय राजधानी रहेको यस प्रदेशमा साधन र स्रोतका हिसाबले सहज भए पनि अपेक्षित लाभ प्राप्त हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वाग्मती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७/७८ को वार्षिक प्रतिवेदनमा पुँजीगत खर्च बढाइ आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ । निर्माणाधिन आयोजनालाई निर्धारित समय र लागतमा गुणस्तरसहित सम्पन्न गरी आर्थिक रुपले सम्भाव्य बनाउनु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनमा भनिएको छ ।

    गत असारमा गएको बाढीपहिराका कारण मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याउनु चुनौतीको विषय रहेको भन्दै अध्ययनमा समस्याको निकारण गर्न सम्वद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अध्ययनमा भनिएको छ, “सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिराबाट घरलगायत अन्य भौतिक संरचनामा क्षति पुगेको कारण त्यसको पुनःनिर्माण गर्नु चुनौतीपूणर् छ ।” पूर्वाधार आयोजनाको योजना निर्माण, सोको कार्यान्वयन र लाभ बाँडफाँट जस्ता सवालमा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्नु जरुरी देखिएको जनाइएको छ । मुआब्जा, जग्गा अधिग्रहण, राइट अफ वे, पुनर्वास आदि परियोजनाका पूर्व तयारीसँग सम्वन्धित विषयहरू सम्बोधन गरी स्थानीय अवरोध हटाउनुपर्नेमा जोड दिइएको छ ।

    पूर्वाधार परियोजनालाई समयमा नै सम्पन्न गर्न प्रभावकारी नियन्त्रण तथा अनुगमन गर्नु र परियोजनाका अधिकारीलाई आयोजनाको कार्यान्वयन प्रगतिप्रति जवाफदेही बनाउनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सम्पन्न भई प्रयोगमा रहेका पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न यस्ता आयोजनाको मर्मत सम्भार योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्ययनले आवश्यक कामदार र विशेषज्ञको उपलब्धता सुनिश्चित गर्न सुझाव दिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७/७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहन पुगेको छ ।

    कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम चार प्रतिशतमा सिमित छ । बृहत आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत छ भने कणर्ाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशत मात्रै छ । औद्योगिक उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कर्णाली प्रदेश मात्रै ०.९ प्रतिशतमा सिमित छ । यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रमा वाग्मती प्रदेशको हिस्सा ५६.५ प्रतिशत छ ।

    आव २०७७/७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले रु एक खर्ब ५६ अर्ब ६० करोड बराबरको पुँजी लगानी हुने गरी २०३ नयाँ उद्योग दर्ता भएका छन् । त्यसमध्ये ४३.८ प्रतिशत उद्योग वाग्मती प्रदेशमा दर्ता भएका छन् । कर्णाली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिदैन । कुल रोजगारीमध्ये ४०.७ प्रतिशत वाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१ प्रतिशत रहेको छ । अर्बौंको क्षति पुग्ने गरी सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बु, ग्यालथुम, तालामारङ, मेलम्ची बजार क्षेत्रका वन, पुल, बाटो, पार्क, होटल, रिर्सोट लगायतको भौतिक संरचनामा क्षति पग्न गएको छ ।

    विपद्ले खेतीयोग्य जमिन, मेलम्ची खानेपानी आयोजना, पशुपालन, माछापालन तथा अन्य व्यवसायमा समेत नराम्ररी क्षति पुर्‍याएकाले यथास्थितिमा फर्काउनु चुनौतीपूर्ण रहेको अध्ययनले स्पष्ट पारेको छ । उपत्यका तथा आसपासका सहरमा सडक मर्मत, ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास, ट्राफिक व्यवस्थापन र पहाडी इलाकामा बाढीपहिरो लगायतका समस्या समाधान गर्नु अर्को चुनौतीको विषय रहेको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार