२० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको उत्पादन सुरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस ३, २०७८

  • पर्वत, ३ पुस । मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो ।

    भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब चार वर्ष पाँच महिना ढिला उत्पादन थालिएको हो । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ । करिब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन । आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो ।

    विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ । टनेल र पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो । विसं २०७२ को भूकम्प, स्थानीयवासीको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।

    आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सबस्टेसन मार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताउनुभयो । योसँगै मोदीखोलामा तीन जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार आयोजना निर्माणाधीन अवस्थामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार