डोटीको दिपायल र राजपुरमा करोडौँ रुपैयाँमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १४, २०७८

  • डोटी, १४ पुस । सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेसँगै डोटीको दिपायल र राजपुरमा करोडौँ रुपैयाँमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका छन् । यसअघि क्षेत्रीय सदरमुकाम रहेको दिपायलस्थित विभिन सरकारी कार्यालयमा कर्मचारी नबस्दा रित्तो छन् । यहाँका क्षेत्रीयस्तरका कार्यालय प्रदेश सरकारले तोकेको राजधानी कैलाली गएपछि कर्मचारी नहुँदा कार्यालय प्रयोगविहीन बनेका हुन् । हाल ती कार्यालय उपयोगविहीन छन् ।

    पुरानो क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्री सम्पर्क कार्यालय तोकिए पनि आवश्यक दरबन्दीअनुसार कर्मचारी नआउँदा उक्त कार्यालय पनि खाली रहेको दिपायल राजपुरका स्थानीयवासी रतनबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयमा छाडा गाईगोरुको बास छ ।’ दिपायलस्थित कार्यालयमा दरबन्दी भएका कर्मचारी पठाइदिन पटक–पटक मुख्यमन्त्री तथा सम्बन्धित कार्यालयमा निवेदन दिँदा कर्मचारी नपठाएको उद्योग वाणिज्य सङ्घ डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । साविकको क्षेत्रीय प्रशासकको कार्यालय, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, कृषिलगायत अन्य कार्यालयका भवन पूर्णरूपमा प्रयोगमा छैनन् ।

    सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले क्षेत्रीयस्तरका कार्यालय दिपायल राजपुरमा तोकिएको र सोहीअनुसार कर्मचारी खटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँ खटिएका कर्मचारी बस्न नमाने वा नगए कारबाही हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार