फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

पर्वतीय पथप्रदर्शकका समस्या र मागबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २७, २०७८

  • काठमाडौँ । नेपालका पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) ले तत्काल भोग्नु परेका समस्याबारे राजधानीमा आज एक कार्यक्रम सम्पन्न भएको छ । बिगत लामो समयदेखि पर्वतिय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुले भोग्नु परेका समस्या र उठाइरहेका विषयमा पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान) ले सोमबार नेपाल पर्यटन वोर्डमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

    हिमालमा कार्यरत मजदुरले भोग्नु परेका समस्या र परिचयपत्र विवादबारे बहस केन्द्रित भएको थियो । पर्वतारोहण सम्बन्धि तालिम दिने संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को सिफारिसमा नेपाल सरकारको पर्यटन विभागले पर्वतीय पथप्रदर्शकहरूलाई वि.सं. २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरु गरिएको थियो । यसै क्रममा १ सय २० जनाले परिचय–पत्र पाईसकेका छन् भने ३ सय जना भन्दा बढीले एनएमएबाट सिफारिस लिईसकेका छन् । एनएमएको बुक भएका र संघको हरेक तालिमका प्रशिक्षक समेत रहेका ४३ जना बुक होल्डरले यसरी परिचयपत्र बाँड्न नहुने भन्दै सर्बोच्च अदालतमा मुद्धा दायर गरेका थिए । पर्वतारोहणका लागि योग्य बुक होल्डर पथप्रदर्शकहरू अयोग्य भएको जिकिर गर्दै उनीहरूले मुद्धा दायर गरेपछि परिचय–पत्र वितरण कार्य रोक्न सर्बोच्चले अन्तरिम आदेश दिएपछि विभागले वितरण कार्य हाललाई बन्द गरेको छ ।

    ‘पर्वतिय क्षेत्रमा कार्यरत सम्पुर्ण मजदुरहरुको सुरक्षा, पारिश्रमिक, इन्सुरेन्स र उनिहरुको समस्यालाइ मध्यनजर गर्दै विभागले काम गरिरहेको छौं ।’ पर्यटन विभागका पर्वातारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले । यस्तै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतिय पर्यटनमा लागेका हजारौं मजदुरहरको हक हित र अधिकारको लागी संघले सदैव सद्भाव रहेको बताए । ‘मजदुरको जुनसुकै सरकारी निकायमा गएर साथ सहयोग रहने छ ।’ उनले भने ।

    पर्यटन व्यवसायी र मजदुरहरु सिकाका दुइ पाटा भएको बताउँदै टानका अध्यक्ष खुम सुवेदीले उनीहरुको मागप्रति आफू सकारात्मक रहेको बताए । २५ चोटी सगरमाथा आरोहण गरेका किर्तिमानी कामिरिता शेर्पाले नेपाली माउन्टेन गाइडलाई नेपाल सरकारले परिचय पत्र वितरण गरेकोमा वर्षौदेखी हिमालमा परिचयविहिन भएर बाँचेका उनीहरु निकै खुशि भएको प्रतिक्रिया दिए । तर, केहि अन्तर्राष्ट्रिय तालिमप्राप्त गाइडले सर्वोच्च अदालतमा रिट निवेदनको मुद्दा दायर गरेकाले परिचय पत्र वितरणमा रोक लागेकोमा उनी असन्तुष्टि व्यक्त गरे ।

    ‘वर्षेनि हिमाल चढ्ने रुट खोल्ने, आइसफलमा डोरी टाँग्ने, आरोहणको लागी बाटो बनाउने सबै (एनएमएको रेड बुक गाइड) क्लाइम्बरले हो । अन्तराष्ट्रिय गाइडले होइन । हामीले बाटो नखोलेसम्म हिमाल चढ्न कोहि पनि सक्दैनन् ।’ कामिरिताले भने ‘तिनै पर्वतिय श्रमिकले खोलेको बाटोमा अन्य आरोहण हिमाल चढ्छन्, उनीहरुले नै लाइसेन्स नपाउने ? उनिहरुनै अयोग्य हुने ? यो कस्तो कुरा हो ? यो नियम के हो ?’ बन्द गरिएको लाइसेन्स सुचारु गर्न र वर्षौंदेखी परिचयविहिन पर्वतिय पथप्रदर्शकहरुलाइ सम्मानजनक ढंगले आफ्नै पेशामा लाग्न दिन उनले सरकारलाई आग्रह गरेका छन् । ‘हामीलाइ लाइसेन्स दिएन भने हाम्रो हतियार ‘आईसएक्स’ सहित क्लाइम्विङ गियर लिएर प्रतिकारमा उत्रिन बाध्य हुनेछौं, ’ उनले आक्रोस पोखे ।

    कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुले पर्वतिय पथप्रदर्शकहरुको माग जायज रहेको भन्दै उनीहरुका हक अधिकारको लागी ऐक्यवद्धता जनाएका छन् । कार्यक्रममा सहभागी अन्य गाइडहरुले पर्वतीय पथ प्रदर्शकहरुको समसामयिक मुद्धाहरु जस्तै पर्वतीय पथप्रदर्शक परिचय पत्र, सामाजिक सुरक्षा कोष, उद्धार कोष तथा तालिम व्यवस्थापन लगायत विभिन्न मुद्दाहरुमा अन्तरक्रिया गर्दै मागहरुको सम्वोधन गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा पर्यटन विभाग, टेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), एक्सपिडिसन अपरेटर एसोसिएसन, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, पर्यटन क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरू, पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) र पर्वतीय पथप्रदर्शकहरूका बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट