आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहको स्थापना


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर १६, २०७४

  • आइरिस संसद तल्लो हाउस र माथिल्लो आइरिस संसद हाउसका माननीय सदस्यहरूले जुन २७, २०१७ मा आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन गर्नुभएको छ । उक्त मैत्री समूहको उद्घाटन समारोह आइरिस संसदका सभामुख माननीय श्री सिन फेयरहेल टीडी अध्यक्षतामा आइरिस संसद भवनमा सम्पन्न भएको हो ।
    आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहमा आइरिस सांसद मैरिन ओसुलीभन, माननीय सीनेटरसुश्री इभाना बसिक, माननीय सांसद शन बारेट, शन क्राउ र दर्रघओ ब्रिएन सदस्य रहनु भएको छ ।
    त्यस अवसरमा बोल्दै सभामुख सिन फेयरहेलले स्थापना भएको मैत्री समूहले नेपाल र आयरल्याण्डको संसदिय व्यवस्थामा गहिरो सम्बन्ध स्थापना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । यो समूह नेपाल र आयरल्याण्डबीच मित्रता स्थापित गर्नमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो । उनले एकपटक नेपाल घुम्ने इच्छा पनि व्यक्त गरे । दुई देशबीचको सम्बन्धमा घनिष्टता ल्याउन उनले जोड दिए ।
    आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहको भेलामा बोल्दै माननिय सुश्री मैरिनले आयरल्याण्ड र नेपाल बीचव्यापार सम्बन्ध बढाउन दुई देश बीच सहकार्यको क्षेत्रमा अन्वेषण, संसदीय सहयोग विस्तार र उच्चस्तरको भ्रमण गर्नुपर्ने विचार व्यक्त गरे ।
    नेपाल दूतावासमा लण्डनका आयरल्याण्ड मिसन उपप्रमुख शरदराज आरणले नेपालको संविधान बहुदलिय लोकतन्त्र, बहुदलवाद, वालिग मताधिकारसहितको लोकतान्त्रिक मूल्यमान्यता सहितको संवैधानिक व्यवस्थाको ग्यारेन्टी गरेको उल्लेख गरे । उनले नेपालले आठ महिनाको अवधिभित्र, स्थानीय प्रान्तीय र संसदीय चुनाव सम्पन्न गरेर लोकतन्त्र संस्थागत गर्न प्रतिबद्ध रहेको बताए ।
    मित्रता समूह स्थापनाको लागि समन्वय गरिरहेका नेपाल–आयरल्याण्ड समाजका अध्यक्ष दिपेश शाक्यले यो मैत्री समूहको गठनबाट आयरल्याण्डमा रहेको नेपाली समुदाय उत्साहित भएको बताए । ‘यो समूहको औपचारिक उद्घाटन नेपाल आयरल्याण्ड समाजको अथक प्रयास र नेपालप्रेमी आइरिसहरुको समर्थन र लण्डनको नेपाली दूतावासको सहयोगबाट सम्भव भएको हो ।’ शाक्यले भने ‘यो प्रयासबाट नेपालमा लगानी र पर्यटन बढाउनको लागि सहयोग पुग्ने विश्वास छ ।’

    आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहको ऐतिहासिक उद्घाटन कार्यक्रममा आइरिस सांसद ब्रेंडनस्मिथ (विदेशी समिति अध्यक्ष) र माननीय सांसद थोमस प्रिंगल सहभागी थिए । सीनेटर टेरी लेडेन (विदेशी र व्यापार विभाग एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक), मेभ कोलिन्स (एसियाका लागि क्षेत्रीय निर्देशक), प्रोफेसर जुलियट हुस्से लगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
    उक्त कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका उपाध्यक्षद्वय जेन फेन्लोन, जिवन तिमिल्सिना, समाजका महासचिब गंगाराम कँडेल लगायत कार्यकारी समिति सदस्यहरु, गैर–आवासिय नेपाली संघ आयरल्यान्डका अध्यक्ष राजन कार्की लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार