हराएका मोटरसाइकल फेला पारी बुझाइयो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ २७, २०७८

  • काठमाडौँ, २७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनका आधारमा टोली परिचालन गरी मोटरसाइकलको खोजी गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गर्नुभएको हो ।

    मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गर्नुभएको छ । महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको निवेदन परेकामध्ये ३०९ वटा मोटरसाइकल फेला परेको जनाइएको छ । तीमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ ।

    उपत्यकाबाट हराएका १३ वटा मोटरसाइकल उपत्यका बाहिरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिई सम्बन्धित धनीलाई बुझाइएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता एकाइबाट सादा पोसाकमा थप ट्राफिक प्रहरीसमेत परिचालन गरेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार