बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंक स्थापना गरिने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २३, २०७८

  • बाँके, २३ फागुन । ‘मौलिक वस्तु तथा प्रविधी नै हाम्रो जीवन र आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका साथ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत गाभर भ्यालीमा दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सुरु भएको छ ।

    समुदायको सहभागितामा जिवहरुको संरक्षण गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैंक स्थापना गर्नु यस तालिमको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले बताए । नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा स्थापना भएकोमा बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले खुसी व्यक्त गरे । ‘यस कार्यक्रमलाई गाउँपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

    कृषि अनुसन्धान निर्देशनालय नार्क खजुराका निर्देशक डाक्टर समिद उपाध्यायले अब स्थापना हुने गाभर भ्याली सामुदायिक जिन बैंकले सामुदायिक जिन बैंकलाई दिगोपना रुपमा सञ्चालनका लागि निरन्तर प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले समुदाय स्तरबाट जिन बैंकको स्थापना र व्यवस्थापनले पारिस्थिकीय प्रणाली (इको सिस्टम) संरक्षणमा टेवा पुग्ने उल्लेख गरे । रैथाने एग्रि प्रोडक्टका अध्यक्ष श्री तिलक ढकालले सामुदायिक जिन बैंकमार्फत किराहरुको मात्र संरक्षण नभई कृषि जैविक विविधताको समेत संरक्षण हुने बताए । यसले कृषि बाली उत्पादनमा बृद्धि हुँदा किसानहरुको आय आर्जनमा सुधार हुने र पर्या पर्यटकहरुको थप आकषर्णको केन्द्र बन्ने ढकालले बताए । ‘समुदाय स्तरमा रोजगारी सिर्जना हुने विश्वास छ ।’ उनले बताए ।
    कार्यक्रमको उद्घाटनमा अनुसन्धान कार्यक्रम नार्क खजुराका संयोजक डा.राजेन्द्र दराई, कृषि ज्ञान केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख सागर ढकाल, कृषि व्यवसाय सहयोग प्रवद्र्धन केन्द्र बाँकेका कार्यालय प्रमुख डा.समीद अहमद, बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले आफ्नो धारणा राख्दै सफलताको शुभकामना व्यक्त गरे ।

    पारिस्थीकिय प्रणालि (इको सिस्टम), जैविक विविधता संरक्षणमा टेवा पुर्‍याउने कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानिय समुदायको जिविकोपार्जनमा सुधार गर्ने हेतुले राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) खुमलटारको आयोजना तथा रैथाने एग्रि प्रोडक्ट प्रालीको सहकार्यमा यो तालिम सञ्चालन गरिएको हो । यस तालिममा नेपालमै पहिलो पटक सामुदायिक जीन बैंक गाभर भ्याली बाँकेमा स्थाापना गरिने घोषणा भएको छ । तालिमको सहजिकरण राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक नार्क, खुमलटारका किरा विज्ञ आरपी मैनालीले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार