स्थानीय तह निर्वाचन : गाउँ–नगर बालमैत्री छैनन्


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २५, २०७८

  • बनियानी, २५ चैत । अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिँकिदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् । मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिताविपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरिएको समाचार आउने गरेका छन् ।

    स्थानीय तह निर्वाचन–२०७४ पछि झापाका १५ पालिकामा स्थानीय सरकार गठन भयो । सो पाँचवर्षे अवधिमा भद्रपुर नगरपालिका मात्र बालमैत्री नगर घोषणा गरिएको छ । सरकारले २०८७ सम्ममा मुलुकलाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा झापाका प्रमुख राजनीतिक दलले बालमैत्री गाउँ÷नगर बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुन बालमैत्री गाउँ–नगर हुन जरुरी रहेको बताउनुहुन्छ । घोषणापत्रमै बालबालिकासँग सम्बिन्धत सवालहरूलाई समेट्ने उहाँले बताउनुभयो । “बोलीमा मात्र होइन, व्यवहारमा पनि उतार्छौँ”, उहाँले भन्नुभयो, “अबको चुनावमा घोषणापत्रअनुसारको काम गर्ने उम्मेदवार छान्छौँ ।”

    त्यस्तै नेकपा (एमाले) झापाका सचिवालय सदस्य देवराज कार्की घरबाटै बालमैत्री व्यवहारको सुरुआत गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले आफ्नो पार्टी दत्तचित्त भएर बालबालिकाका सवालमा लाग्ने र लागिरहेको उल्लेख गर्नुभयो । “घरदेखि सबै क्षेत्र बालमैत्री बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “संविधानमै व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौँ ।” सबैभन्दा पहिला बालबालिकालाई पार्टीले प्राथमिकता दिएको उहाँको भनाइ छ । सामाजिक परिवेशले समेत बालअधिकारलाई असर गर्ने गरेको नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य बताउनुहुन्छ । “राजनीतिक दलले बालमैत्री अभियान चलाउनु पर्छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई मानसिक असर पर्ने काममा ध्यान दिनुपर्छ ।” संविधानले नै बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको बताउँदै उहाँले बालबालिकाको दातृ निकायको प्रचार गर्नुभन्दा परिणामुखी काम गर्नुपर्ने जोड दिनुभयो । पार्टीले बालमैत्री अभियानलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

    उहाँले स्थानीय तह चुनावमा पार्टीले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय चेतना र पहुँचमा विकास हुँदै गएकाले बालमैत्री सवाल क्रमशः सम्बोधन हुँदै गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष वेदराज रेग्मीले बताउनुभयो । “सबैको चाहना सन्ततिको उन्नति रहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पहुँच र चेतनाको विकास हुँदै गएको छ ।” संविधानले नै बालमैत्री सवाललाई सम्बोधन गरेकाले सोको कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नगर बाल सञ्जाल भद्रपुरका अध्यक्ष भावना पोरखेल बालबालिकालाई भोलिको कर्णधार मात्र नभई वर्तमानको साझोरदा बनाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भोलि भन्दा–भन्दै समय बित्ने भएकाले आजलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “अहिले पनि विद्यालय आसपासको क्षेत्रमा मादक पदार्थ, खैनी, चुरोट बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “कानूनले बर्जित गरेका कुरा खुलेआम भइरहे पनि नियमनकारी निकायले त्यसतर्फ ध्यान दिएको छैन, जसका कारण बालबालिका कुलतको शिकार भइरहेका छन् ।”

    आजका दिनमा नगरे भोलिमा ढिलो भइसक्ने जनाउँदै उहाँले कार्यक्रमलाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । नगर बाल सञ्जाल कनकाईका अध्यक्ष अभिषेक मिश्र बालबालिकाले भोट दिँदैनन् उनीहरुका लागि किन काम गर्ने भन्ने मानसिकता जनप्रतिनिधिमा रहेको बताउनुहुन्छ । “स्थानीय तह बालमैत्री छैनन्”, उहाँले भन्नुभयो, “घरभित्र र बाहिर बालमैत्री वातावरण बन्न सकेको छैन ।” उहाँले प्रतिबद्धतापत्र घोषणा मात्र नभई कार्यान्वयन गर्न माग गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार