आयोगद्वारा परीक्षा सञ्चालन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख ११, २०७९

  • कर्णाली, ११ वैशाख । मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६-०७८-०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

    “परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उहाँले बताउनुभयो । आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले सङ्घीयताको इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताउनुभयो । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको उहाँको भनाइ थियो । आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार