लिस्बन, ६ जेठ । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले राससलाई बताउनुभयो । सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको उहाँले बताउनुभयो ।
सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ यहाँको प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।