कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ६, २०७९

  • सुदूरपश्चिम, ६ जेठ । सम्पन्न स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष, टीकापुरको प्रमुख र भजनी नगरपालिकाको प्रमुख -उपप्रमुखमा विजयी भएर सो पार्टी पहिलो दल बन्न सफल भएको हो ।

    जानकी गाउँपालिकाको आधिकारिक नतिजा भने सार्वजनिक हुन बाँकी छ । सो पार्टीले यी पालिकामा प्रमुख÷उपप्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलका प्रत्याशीलाई पराजित गरेको छ । पाँच वर्षअघिको निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा कांग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका थिए ।

    टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायत आधारमा गरिएको चुनावी परिणामको आङ्कलन गलत साबित भई परिणाम आफ्नो पक्षमा ल्याउन नागरिक उन्मुक्ति पार्टी सफल देखिएको हो ।

    जिल्लामा १३ पालिका रहेका छन् । कैलालीमा आज साँझसम्म नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका प्रत्याशी लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाको प्रमुखमा र कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । सो पार्टीका प्रत्याशीले घोडाघोडी र गौरीगङ्गा नगरपालिको उपप्रमुख, मोहन्याल र चुरे गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रका प्रत्याशी जिल्लाको गौरीगङ्गा नगरपालिकाको प्रमुख र मोहन्याल गाउँपालिकाको अध्यक्ष र टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष जितेको छ । लम्कीचुहा र गौरीगङ्गा नगरपालिका तथा जानकी गाउँपालिकाको आधिकारिक नतिजा पुष्टि हुन भने बाँकी छ । एमालेले जिल्लाको चुरे गाउँपालिकाको अध्यक्ष, लम्कीचुहा र गोदावरी नगरपालिकाको उपप्रमुखमा विजयी भएकोे छ ।

    नेकपा (एकीकृत समाजवादी)ले घोडाघोड नगरपालिकाको प्रमुखमा विजयी भएको छ । माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीच जिल्लाका पालिका तहका प्रमुख÷उपप्रमुख पदमा तालमेल गरिएको थियो । सत्ता साझेदार दलहरुबीच गरिएको तालमेल अनुसारको नतिजा घोडाघोडी र गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकामा आएको छ । अन्य पालिका तहमा तालमेल अनुसारको नतिजा आउन सकेन । विसं २०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुखमा विजयी भएको थियो । सम्पन्न निर्वाचनको परिणामअनुसार एमाले पाँच वर्षअघि जितेका धेरै पालिकाका प्रमुख र उपप्रमुखमा पराजय व्यहोरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि पहिले जितेका कतिपय पालिकाको प्रमुख उपप्रमुखमा यसपालिकाको चुनावमा पराजय व्यहोरेको छ ।

    एमालेबाट विभाजन भई गठन गरिएको एकीकृत समाजवादीले एकपालिका प्रमुख (घोडाघोडी) मा विजयी भएर चित्त बुझाउनु परेको छ । एकीकृत समाजवादीले तालमेल गरेको चुरे गाउँपालिकाकाको अध्यक्ष र गोदावरी नगरपालिकाका उपप्रमुखमा प्रतिस्पर्धीसँग थोरै मतान्तरले पराजय व्यहोरेको छ । चुरेको अध्यक्ष र गोदावरीको उपप्रमुखमा एमाले विजयी भएको छ । धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार छ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । उहाँलाई कांग्रेसका नृपबहादुर वडले नौ हजार ९२९ मतसहित पछ्याइरहनु भएको छ ।

    उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले नौ हजार २०९ मत प्राप्त गर्दै अगाडि हुनुहुन्छ । उहाँलाई एमालेका उपप्रमुखका प्रत्याशी कन्दकला रानाथारूले आठ हजार ५४० मतसहित पछ्याई रहनुभएको छ । १९ वडा रहेको उपमहानगरमा आज साँझसम्म ४५ हजार मतको गणना भइसकेको छ । झन्डै १८ हजार मतको गणना हुन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार