५७० उद्योग र व्यावसायिक फर्म थपिए


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ६, २०७९

  • म्याग्दी, ६ साउन । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

    ‘पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो’, उहाँले भन्नुभयो, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ दर्ता र नवीकरणका क्रममा उद्योगबाट रु नौ लाख ३०५, वाणिज्यतर्फ रु सात लाख ६९ हजार २४५ र अन्य शीर्षकमा रु १२ हजार २०० राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ७६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । यसैगरी रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको थियो ।

    नयाँ दर्ता भएका ३३८ मध्ये २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वाणिज्य फर्म नवीकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यावसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगमा एक हजार ५२८ ले रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा कूल रु एक करोड १३ लाख बजेटमध्ये रु ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धौलागिरि–७ ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताउनुभयो ।

    १३ जनालाई मेसिन उपकरण खरिद गर्न रु १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र रु १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार