नवराज लम्साललाई मदन पुरस्कार र दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ११, २०७९

  • काठमाडौँ, ११ भदौ । शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि  महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार र जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले ‘अग्नि’ लाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए ।

    मदन पुरस्कार प्राप्त गर्ने धादिङका लम्साल रेडियो नेपालमा आबद्ध छन् । यसअघि उनले कर्ण, धरा  महाकाव्य लेखेका छन् । ‘अग्नि’ उनको तेस्रो महाकाव्य हो । यस्तै उनका तीन वटा कविता संग्रह र दुई वटा गीत संग्रह प्रकाशित छन् । हालै उनको अग्नि महाकाव्यले चिसाप राजकृष्ण –मायादेवी साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

    जगदम्बा–श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन् । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् । यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सती: इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।

    गत वर्ष नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको थियो । त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार पाएका थिए ।

    गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशि चार लाख नगद सहित सम्मानपत्र रहेको छ ।

    २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो । त्यस्तै, २०४५ सालमा पहिलो पटक जगदम्बा–श्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार