राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २९, २०७९

  • काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो ।

    भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

    सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

    भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार