दामोदर न्यौपाने झण्डै १७ वर्ष भन्दा लामो समयदेखी मिडियामा सक्रिय छन् । हाल कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेले सम्पदा, ऐतिहासिक धरोहर जस्ता विषयवस्तुमा कलम चलाईरहेका छन् । न्यौपानेले ‘शाहसिक पत्रकारिता पुरस्कार’, ‘श्रीधर आचार्य अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘तिरुपति साहित्य सम्मान’ हात पारिसकेका छन् । उनका एम्बुसमा ६ वर्ष, कर्म, स्कुल बेच्ने बालक, स्वर्णिम समय जस्ता पुस्तकहरु प्रकाशित छन् । बाल मनोविज्ञान बुझ्न, केलाउन र विश्लेषण गर्न उनी सिपालु छन् । न्यौपानेसंग फ्रन्टलाइन नेपालले गरेको कुराकानी :
तपाईं लेखनमा कसरी प्रबेश गर्नुभयो ?
मेरा लेखनका दुई पाटा छन् । एउटा अखवारी लेखन । अर्को पुस्तक लेखन । अखबारी लेखन यात्रा २०५९ सालबाट शुरु भयो । शसस्त्र युद्धको बेला थियो त्यो । युद्धको बेला समाचार लेख्नकै लागि दुर दराज गएको थिए । पुस्तक लेखन चाहिं २०७१ सालबाट भएको हो । युद्धको बेला, देखेका, भोगेका विषय किताबका रुपमा ल्याउनु पर्छ भन्ने हुट्हुटी जाग्यो । त्यही हुटहुटीले पुस्तक लेखनतिर डोर्यायो ।
स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना पाल्नु भएको थियो ?
मैंले त्यस्तो केही सपनै देखिन । पढाइ सकेर जागिर खानु पर्छ भन्ने थियो स्कुल पढ्दा । घर परिवारमा चिनिएका आफन्त हुनुहुन्थ्यो । उहाहरुले जागिर खोज्दिहाल्नु हुन्छ पो भनेर ढुक्क थिए । के जागिर खाने हो चाहिं थाहै थिएन ।
कलेज पढ्दा राजनीति पनि गरियो । राजनीति गर्दा पनि मन्त्री बन्छु भन्ने सपना पलाएन । अहिले पत्रकारिता गर्छु । पत्रकारिता गर्दा पनि प्रधान सम्पादक हुनु पर्छ भन्ने सपना देख्दिन । मैंले सधैं काममा विश्वास गरें । परिश्रमले जहा लान्छ लगोस् भने जस्तो छ मेरो जीवन । मैंले सपना देखाउने शिक्षा पढिन । सपना देखाउने मान्छेस“ग संगत गरिन । हाम्रो शिक्षाले हामीलाई सपना देख्न सिकाएन । कल्पना गर्न सिकाएन । तर स्कुल देखिनै मलाई लेख्ने सौख थियो । डायरी लेख्थें । निबन्ध लेख्थें । सायद तैंले लेखेर खानुपर्छ संकेत थियो त्यो ।
मिडियामा कसरी प्रबेश गर्नुभयो ?
कान्तिपुर दैनिकमा खुला प्रतिष्पर्धाबाट प्रवेश गरेको हु २०५९ सालमा । त्यस यता निरन्तर यही प्रकाशन गृहमा छु ।
प्रकाशकहरुले रोयल्टी नियमित दिन्छन् कि ठगेको उदाहरण पनि छन् ?
रोयल्टीमा समस्या छ । मैंले धेरै प्रकाशकसंग काम गरेकाले अलग–अलग अनुभूति छन् । म ठगेकै भन्ने शब्द त प्रयोग गर्दिन । तर रोयल्टीमा समस्या छ ।
एउटा पत्रकार लेखक हुनुका फाइदा के के छन् ?
पत्रकारितामा व्यक्त गर्न नसकिएका, व्यक्त गर्न नमिल्ने पुस्तकमा उल्लेख गर्न पाइन्छ । पत्रकारितामा सधैं अरुका कुरा मात्र बाहिर ल्याउनुपर्छ । पुस्तकमा आफ्ना कुरा पनि ल्याउन पाइन्छ । पत्रकारितामा सधैं अरुको कोट् गरेर लेख्नुपर्छ । आफूलाई थाहा भएका कुरा, आफूले बोले पनि हुने कुरा अरुलाई बोल्न लगाउनुपर्छ । पुस्तकमा आफैं बोलिदिए हुन्छ ।
प्रायः कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
जुनसुकै समयमा पनि लेख्छु । लेख्न मलाई विशेष मुड बनाइराख्नु पर्दैन । विशेष मुड बनाएर लेख्नु भन्न थाल्यो भने मेरो लेखन गति कम हुनेछ भन्ने लाग्छ । पुस्तक लेखनचाहिं अफिसको काममा बाधा नपुग्ने गरि लेख्छु । बिहान, बेलुका र घर बसेका बेला जुनसुकै समयमा पनि पुस्तक लेखनमा सक्रिय हुन्छु ।
तपाईंको प्रिय बिधा कुन हो ?
गैर–आख्यान । किनभने मलाई सूचना चाहिएको हुन्छ । विषयवस्तु, भाषाशैली कस्तो रहेछ भनेर थाहा पाउन आख्यान पनि पढ्छु ।
तपाईका प्रिय लेखकहरु को को हुन् ?
धेरै छन् । यो, उ भनेर किन छुट्याउनु । मैंले पुस्तक पढेका लेखक सबै प्रिय लाग्छन् ।
अरुलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
पुस्तकमा सबैको एउटै रुचि हुदैनन् । मलाई मन परेको पुस्तक अरुलाई मन पर्छ भन्ने छैन । पुस्तक किन पढ्ने ? पहिला यो विषयमा प्रष्ट हुनुपर्छ । पुस्तकले हाम्रो जीवनमा केही न केही परिवर्तन ल्याओस् । हामीले दैनिक गर्न कामलाई केही न केही आइडिया दिन किताब सहयोगी बनोस् । मार्गदर्शन गरोस् त्यसले । आफ्नो क्षेत्रको ज्ञाता बन्नुस् तपाइ, ज्ञाता बन्न सहयोग गरोस् पुस्तकले । आफ्नो क्षेत्रमा अघि बढ्न सहयोगी हुने किसिमका पुस्तक पढ्नुपर्छ । तपाई बेरोजगार हो भने स्वरोजगार बन्न प्रोत्साहन गर्ने किसिमका पुस्तक पढ्नुस् । सीप सिकाउने पुस्तक पढ्नुस् । पशुपालन, कृषि, उद्योगधन्दा जस्ता उद्यम गर्न प्रोत्साहन गर्ने पुस्तक पढ्नुस् । यस्तो वर्गका लागि ‘सेल्फ हेल्प’ पुस्तक उपयोगी हुनेछ ।
तपाईका प्रिय पुस्तकहरु ?
म आफ्नो क्षेत्रमा सहयोग पुग्ने खालका पुस्तक पढ्छु । पहिला द्वन्द्वको बेला पत्रकारिता गर्दा राजनीति, युद्ध, पत्रकारिता सम्बन्धि पुस्तक पढें । त्यतिबेला ति विधाका पुस्तक प्रिय थिए । बालबालिका क्षेत्रमा काम गर्दा बालसाहित्य, शिक्षा, मनोविज्ञान जस्ता पुस्तक मेरा लागि प्रिय थिए । अहिले सम्पदा, संस्कृति, सभ्यता, संरक्षण, दर्शन जस्ता पुस्तक मेरा प्रिय छन् । यि विधाका पुस्तक पाएसम्म म किनिहाल्छु । मेरो मुख्य पेशा पत्रकारिता हो । म जुन बिटमा काम गर्छु, त्यही बिट् बुझ्न सहयोग हुने किसिमका पुस्तक पढ्छु ।
लेख्नका लागी समय कसरी छुट्याउनुहुन्छ ?
समय व्यवस्थापन गर्छु । रुटिन बनाएर अघि बढ्छु । खाने, हिंड्ने, सुत्ने सबै रुटिन हुन्छन् । सकेसम्म विहान घरबाट बाहिर निस्कन्न । त्यो समय केहीबेर परिवारलाई, केही बेर पुस्तक लेखनको लागि । बेलुका ८ बजे घर पुगि सक्छु । त्यसपछिको केही समय घर परिवारलाई दिन्छु अनि लेख्न बस्छु ।
अब कुन पुस्तक ल्याउने तयारीमा हुनुहुन्छ ?
मेरो अब आउने पुस्तक सम्पदा सेरोफेरोमा हुनेछ । सम्पदा हाम्रा पहिचान हुन् । पहिचान हाम्रो राष्ट्रियता हो । यही कुरामा जोड दिएर लेखेको छु । त्यसको नाम पनि छानिसकेको छु । छिटै सार्वजनिक गर्नेछु ।