बाँकेमा भ्रष्टाचार विरोधी, विकासप्रेमी छविका डा धवलशमशेर राणा, राणा प्रधानमन्त्री देवशमशेरका पनातिको इतिहास यस्तो छ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर ७, २०७९

  • नेपालगञ्ज, ७ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा बाँकेको क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका महामन्त्री डा धवलशमशेर राणालाई यस क्षेत्रमा लोकप्रिय र स्थापित नेताका रुपमा हेरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुई–दुई पटक प्रमुख भएर विकासका योजना अघि सार्नुभएका उहाँले विगतका अधुरा योजनालाई पूरा गर्ने र यस क्षेत्रमा रासायनिक मलको कारखाना स्थापना गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।

    “भ्रष्टाचारमुक्त समाज निर्माण र समृद्धि नै मेरा प्राथमिकताका विषय हुन्”, राणा भन्नुहुन्छ । विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाति कैलाश शमशेरका छोराका राणाले नगर विकासको विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ ।

    मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेको बताइएको छ । मसुरीका छोरा कैलाश शमशेरले पनि कृषिलाई नै प्राथमिकता दिनुभएको यहाँ चर्चा छ । डा राणा पनि राजनीतिमार्फत देशको विकासमा कायापलट गर्ने योजना बनाएको बताउनुहुन्छ । भारतमा अध्ययनका क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावनाले विसं २०४७ मा उहाँ राजनीतिमा आबद्ध हुनुभएको थियो ।

    विसं २०५१ को संसदीय निर्वाचनमा पराजित भए पनि विसं २०५४ मा तत्कालीन नेपालगञ्ज नगरपालिकाको प्रमुख पदमा अत्यधिक मतले निर्वाचित हुनुभएका डा धवल नेपालगञ्जको नगरप्र्रमुख बन्दा ३२ वर्षको हुनुहुन्थ्यो ।

    पहिलोपटक नगरप्रमुख बन्दा नेपालगञ्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरेको उहाँ बताउनुहुन्छ । नेपालगञ्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जु), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता काम गरिएका थिए। आफूले प्रमुख भएबापत पाउने तलब गरिबलाई वितरण गरेको र भत्ताको रकमबाट भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरेको डा धवल सुनाउनुहुन्छ ।

    भ्रष्टाचार विरोधी र विकासप्रेमी नेताका रूपमा ख्याति कमाउनु भएका उहाँ जनताका बीचमा लोकप्रिय हुनुहुन्छ । बुबा स्व कैलाशशमशेर र आमा स्व अम्बिका राणाको कोखबाट विसं २०१८ चैत १७ गते नेपालगञ्ज नगरपालिका–१३ हालको वडा नं १० मा डा.राणाको जन्म भएको थियो ।

    जन्म नेपालगञ्जमा भए पनि उहाँको बाल्यकाल भारतमा बितेको थियो । सन् १८८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले देवशमशेर राणालाई देश निकाला गरेपछि उहाँ परिवारसहित भारतको मुसुरीमा बसाइँ सर्नुभएको थियो । देव शमशेरको १९०३ मा भारतमा देहवसान भएको थियो । देश निकाला भएपछि मुसुरीमा बसेको देव शमशेरको परिवारलाई ३९ वर्षपछि चन्द्र शमशेरले नेपाल फर्किन दिएका थिए ।

    कक्षा १ देखि स्नातकोत्तर तहसम्मको अध्ययन भारतमै गर्नुभएको डा राणाले भारतबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको हो । उहाँको बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बितेको थियो ।

    बाल्यकालमा पढाइसँगै खेलकुदलाई पनि सँगसँगै अगाडि बढाउनुभएका डा राण फुटबल, हक्की, टेनिस र पौडी खेलका राम्रा खेलाडी हुनुहुन्छ । सम्पन्न राणा खानदानमा जन्मिएका कारण उहाँले आर्थिक अभावका कारणले कुनै समस्या भोग्नु परेन । डा. राणाका बुबा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ भएको बताइएको छ ।

    स्नातक तह अध्ययनसँगै भारतमै कन्स्ट्रक्सन कम्पनीमा केही समय नोकरीसमेत गर्नुभएका डा. राणाले स्नातकोत्तर तहको पढाइ सकिएपछि खजुरास्थित कपास विकास समितिमा सहसचिव स्तरको जागिर खानुभएको थियो । तीन वर्षसम्म काम गरेपछि उहाँ पूर्ण रूपमा व्यवसायमा लाग्नुभयो । नेपालगञ्जमा होटल वाटिका, बर्दियामा एड्भेन्चर रिसोर्ट र नेपालगञ्जमा मोडर्न पब्लिक स्कुल खोलेर डा राणाले व्यवसायिक क्षेत्रमा समेत फड्को मार्नुभएको हो ।

    अङ्ग्रेजी विषयमा राम्रो दखल भएका उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन २० भन्दा बढी देशहरूमा भ्रमण गरिसक्नुभएको छ ।
    नेकपा (एमाले)बाट राजनैतिक जीवन सुरु गर्नुभएका राणाले विसं २०६३ को परिवर्तनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०५४ सालमा एमालेबाट नेपालगञ्ज नगरपालिकाको प्रमुखमा जित्नुभएका उहाँ विसं २०७० को संविधानसभा सदस्यको निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो

    विसं २०७८ मा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको पक्षमा लाग्नुभएका डा.राणाले २०५१को निर्वाचनमा बाँके २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिनुभएको थियो ।

    यस पटक एमाले—राप्रपा गठबन्धनबाट विजयी हुनुभएका उहाँले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको छ । डा राणाका निकटतम प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार