आँखा शिविरमा निःशुल्क शल्यक्रिया


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २२, २०७९

  • ताप्लेजुङ, २२ मङ्सिर । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको छ ।

    सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी पाँच सय १४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन् । शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो । शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौँ हाम्रो रुपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार