‘इन्द्रेणी स्पर्श’ मा नारी स्वतन्त्रताको खोजी (पुस्तक समीक्षा)


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २३, २०७९

  • टङ्क भट्टराई

    पेशाले चार्टर्ड एकाउण्टेण्ट सञ्जु अधिकारी कवि र कथाकारको रुपमा पनि चिनिन्छन् । तर, प्रथम कृतिको रुपमा भने उनको नवीनतम उपन्यासकृति ‘इन्द्रेणी स्पर्श ’ २०७७ चैतमा बजारमा आएको छ । कलम प्रकाशनद्वारा प्रकाशित उक्त उपन्यासमा काठमाडौँका शहरीया नारीहरुको प्रेम कथा प्रमुख विषयवस्तुको रुपमा आएको छ । उपन्यासमा नारी संवेदना छचल्किएको छ । नारी मुक्तिको स्वर मुखरित भएको छ । नारी र पुरुषको प्रेमिल सम्बन्धलाई फरक आयामबाट हेर्दै पुन:परिभाषित गर्न खोजिएको छ ।

    काठमाडौँ शहरमा बसोबास गर्ने पाँच जना नारी पात्रहरु र तीसँग जोडिएका पुरुषहरुको प्रेम सम्बन्धको सेरोफेरोमा उपन्यासको कथावस्तु अगाडि बढेको छ । जुन निकै रोचक, सरस र मर्मस्पर्शी छ । आशा, सपना, प्रेरणा, सान्वी र रुहाना बाल्यकाल र स्कूले जीवनमा जोडिएका सँगी हुन् । पछिसम्म पनि उनीहरुको सम्बन्धमा उही आकर्षण छ । उही प्रगाढता छ । उनीहरु शहरीया सुविधा सम्पन्न नारी हुन् । फरक–फरक ढङ्गले जीवन अगाडि बढाउँदै आएका यी नारीहरुका फरक–फरक भोगाइहरु छन् । सम्बन्धहरुमा आउने उतारचढावहरु फरक छन् । तर, नारी स्वतन्त्रताको उन्मुक्त चाह भने एउटै छ । यिनीहरु बेला–बेला सँगै भेट्छन् । जमेर बातचित गर्छन् । खानपिनमा मस्त हुन्छन् ।

    आशाको स्कूल जीवनमा पत्रमित्रता मार्फत् पूर्व झापातिरको शिवायसँग प्रेम सम्बन्ध अगाडि बढ्छ । सँगै जिउने मीठो कल्पनाको उडान भर्दै शिवाय पढाइको क्रममा केही समयपछि अमेरिका जान्छ । दिनहरु बित्दै जाँदा यता आशाको भने शौरभसँग नजानिदो ढङ्गले प्रेम सम्बन्ध विकास हुन्छ । जसको घरमा श्रीमती छ र आशाभन्दा उमेरले निकै पाको छ ।

    प्रेरणा र शुभको अन्तरजातीय प्रेम सम्बन्ध हुन्छ । पढाइको क्रममा जापान गएको शुभ यता प्रेरणाको सानातिना गतिविधिहरुमा पनि चासो लिन्छ । जब प्रेरणाका बाबुआमाले उनीहरुको प्रेम सम्बन्धलाई स्वीकार गर्दैनन् र प्रेरणालाई घरभित्रै कैद गरी त्यो सम्बन्धलाई छोड्न दबाब दिएपछि प्रेरणा निरीह बन्छिन् । शुभले जापानबाटै प्रेरणालाई घर छोड्न दबाब दिँदा उनी आँट गर्न सक्तिनन् । अन्ततः प्रेरणाको मायाजालमा चुर्लुम्मै डुबेको शुभ नशामा डुबेर मर्न पुग्छ ।

    पाँच जना नारी पात्रमध्ये सपनाचाहिं अझै बढी स्वतन्त्रताको खुला आकाशमा उड्न चाहन्छिन् । आपसी सम्बन्ध, प्रेम र यौनमा कुनै बन्धनरहित स्वतन्त्रता । शुरुमा सुरजसँग प्रेम सम्बन्धमा जोडिएकी उनी अमेरिकाबाट पढाइ सकेर फर्केपछि सुरजसँग विवाह बन्धनमा बाँधिन चाहन्नन् । विदेश पढेर आएको अनिशजङ्ग कुँवर (विवाहित) सँग जागिर शुरु गर्ने क्रममा भएको यात्रा अत्यन्त प्रेमिल हुन्छ । उनीहरुको प्रेम शारीरिक आकर्षण हुँदै अन्तमा आत्मिक आकर्षणयुक्त सम्बन्धमा टुङ्गिन्छ ।

    प्रेमलाई प्रेमको स्वरुपमा छोड्ने, किन बिहे गर्ने भन्दै निस्फिक्री हिंडेकी उनी अन्तमा अर्कै पुरुष आरबसँग विवाह गर्न पुुग्छिन् । आफन्त, साथी वा कसैको माया र प्रेममा नअल्झी जीवनको स्वतन्त्र उडान भर्ने सपना वैवाहिक जीवन अघि बढ्दै गएपछि पति आरबसँगको प्रेममा चुर्लुम्म डुब्छिन् । प्रेमको शाश्वत् मूल्यलाई बुझ्छिन् ।

    उपन्यासमा अर्की पात्र रुहानाको भूमिका र चर्चा भने थोरै छ । विदेशको पढाइ सकेर फर्केकी उनी पनि प्रेम र यौन सुखमा स्वतन्त्र भएर रमाउन चाहन्छिन् । विशेषगरी विदेशी पुरुषसँग । शुरुमा उमेरले आफूभन्दा निकै कान्छो उमेरको स्वीस केटासँगको चरम यौन सुखको अनुभूति गरेकी रुहाना अर्को विदेशी पुरुष केभिनसँग विवाह गर्ने योजनामा छिन् । उपन्यासका पाँच जना नारी पात्रहरुमा प्रमुख पात्र हुन् सान्वी । उपन्यासको शुरुदेखि अन्तिमसम्म नै विभिन्न भूमिकाका साथ देखा परेकी हुँदा उनी उपन्यासकारको मुखपात्रको रुपमा रहेको बुझिन्छ । सान्वीका जीवनमा सानैदेखि अनेकौं उकाली–ओरालीहरु आएका छन् । उनी बाबुआमाकी पाँचौ छोरी हुन् ।

    धेरै छोरी जन्मेकोमा बाबु अप्रसन्न छन् । त्यसैले पछि जन्मेको छोरालाई बढी नै प्यार गर्छन् । छोरालाई राम्रो स्कूल पठाउँछन् । तर, छोरीलाई हेला । सान्वीकी आमाले पनि यो कुरा बुझ्दिनन् । उनी आफ्नै कोखबाट जन्मेका छोराछोरीप्रति पतिकै बाटो पछ्याएर फरक व्यवहार देखाउँछिन् । यसबाट लैंगिक विभेद आफ्नै घरबाट शुरु हुने कुरा उपन्यासमा व्यक्त भएको छ ।

    काठमाडौँको काँठ क्षेत्रमा बस्ने दीपकसँग सान्वीको प्रेम सम्बन्ध हुन्छ । सान्वीका बाबुआमा छोरीको प्रेम सम्बन्धलाई स्वीकार्दैनन् । तर, सान्वी विद्रोह गर्छिन् । बाबुआमाले नचाहँदा नचाहँदै पनि दीपकसँग सान्वीको विवाह हुन्छ । शुरुमा राम्रो गरे पनि केही समयपछि उनी पराइघरको कठोर बुहार्तन भोग्न पुग्छिन् । एकातिर आफ्नो जागिर, अर्कोतिर घरको सम्पूर्ण कामधन्दा आफैंले गर्नुपर्ने ।

    कसै गरे पनि सासु र नन्द–आमाजुलाई उनी रिझाउन सक्तिनन् । यसबाट नारीको शत्रु नारी नै हो भन्ने कुराको पनि चरितार्थ हुन्छ । दीपक र सान्वीको एउटा छोरा जन्मिदासम्म पनि बुहार्तन उही नै । बरु, अझ कठोर बन्दै जान्छ । दीपक सान्वीलाई असाध्यै माया त गर्छन् तर, परिवारको कुरा काट्न सक्तैनन् । आमा र दिदी बहिनीको अगाडि उनी निरीह देखिन्छन् । अति भएपछि सान्वी सबैसँग विद्रोह गर्छिन् । पतिसँग सम्बन्ध विच्छेद गरी उनी घर छाडेर हिंड्छिन् ।

    यहाँ एउटा कुरा के चाखलाग्दो छ भने, सान्वी र दीपकबीच सम्बन्ध विच्छेद भए पनि उनीहरुबीचको आपसी प्रेममा भने कमी छैन । सान्वीको मनमा दीपकप्रति केही गुनासो मात्र छ । सान्वीप्रति दीपकको समर्पणभाव उही छ । एक दिन सामान लिन सान्वी दीपकको घर आउँछिन् । परिवारका सबैसँग बसेर सँगै खाना खान्छिन् । फर्किन रात परेकोले दीपकले बस्न कर गरेपछि सान्वी त्यो रात त्यहीं बस्छिन् । निकै दिनपछि दीपक र सान्वी मस्त भएर यौन क्रिडामा लीन हुन्छन् । रातभरि एकअर्काको अङ्गालोमा हराउँछन् ।

    दीपक सान्वीसँगको प्रेममा झन् डुब्छन् । उनी सान्वीसँगै जान्छन् । सान्वीलाई कहिल्यै नछोड्ने निश्चय गर्छन् । यो नै यस उपन्यासको विशिष्टता हो । मुख्य आकर्षण हो ।

    यस उपन्यासमा नारी स्वतन्त्रताका रङ्गहरु छन् । नारी संवेदनाका तरङ्गहरु छन् । प्रेम र जीवन अमूल्य छ । निश्चय नै हामीले परिवार, सन्तान, साथीभाइ वा अरुप्रति प्रेम गर्छौं । प्रेमबिनाको दुनियाँ निरस, उराठ र कठोर हुन्छ । तर, प्रेमका सम्बन्धमा हामीले अरुलाई मात्र होइन आफूले आफूलाई पनि प्रेम गर्नुपर्छ, न्याय गर्नुपर्छ । प्रेमले भरिएको मान्छेले मात्रै अरुलाई प्रेम बाँड्न सक्छ र शारीरिक आकर्षणयुक्त प्रेमभन्दा आत्मिक आकर्षण वा समर्पणले रङ्गिएको प्रेम मूल्यवान् हुन्छ भन्ने कुरा उपन्यासमा पात्रहरुको मनोभाव वा उनीहरुको भूमिकाबाट बुझिन्छ ।
    उपन्यासका सबै नारीपात्र शिक्षित र सबै जागिरे छन् । परिवारप्रति जिम्मेवार छन् । स्वतन्त्रताको नाममा आफ्नो कर्तव्यलाई पनि उनीहरुले भुलेका छैनन् । विवाह, प्रेम र यौनका सम्बन्धमा उनीहरुका अलग परिभाषा छन् । जीवनका भोगाइहरु फरक छन् । परिवार र समाजका स्थापित मान्यता र परम्परामाथि उनीहरुका प्रश्न छन् ।

    हिंड्दा–हिंड्दै जीवनयात्रामा फरक पात्रहरु भेटिन्छन् । फरक मोड आउँछ । सम्बन्ध स्थापना हुन्छ । सम्बन्ध भत्किन्छ । नारी–पुरुषबीच प्रेम हुन्छ । वियोग हुन्छ । सम्बन्धमा उतारचढावहरु आउँछन् । यी जीवनका सामान्य र स्वभाविक घटना हुन् । प्रेमिल संसार सप्तरङ्गी इन्द्रेणीजस्तै सुन्दर हुन्छ भन्ने कुरा उपन्यासमा देखाउन खोजिएको छ । नारी र पुरुषका सम्बन्धमा आइपर्ने जटिलता, घुम्ती र मोडहरुले उपन्यासलाई रुचिकर बनाएका छन् । उपन्यासमा प्रेमको शाश्वत् मूल्यको बोध छ । प्रेमको जित छ ।

    उपन्यासमा उपन्यासकारले केही पात्रका माध्यमबाट प्रस्तुत गरेका कुराहरु कुनै विद्वान् वा दार्शनिकका प्रवचन जस्तो पनि लाग्छ । यस्ता प्रस्तुतिहरु बढी नै छन् उपन्यासमा । मुलुकको राजधानीजस्तो ठाउँमा बस्ने शिक्षित नारी र तीसँग जोडिएका पुरुषहरुको प्रेम सम्बन्ध र त्यसमा आउने उतारचढावमा नै उपन्यास केन्द्रित छ । समाज तथा राष्ट्रको जीवनमा देखापरेका विविध परिदृश्य र परिवर्तनका घटनाहरुले यी शिक्षित पात्रहरुलाई रत्तिभर छोएका छैनन् ।

    बरु, उनीहरुले आफ्नो जीवनमा देखापरेका भवितव्यलाई कर्म वा भाग्यको खेलको रुपमा लिएका छन् । कहींकहीं पात्रहरुको एकोहोरो वर्णनले उपन्यास केही बोझिलो बनेको हो कि जस्तो पनि लाग्छ । जस्तोः सान्वीको सन्दर्भमा व्यवहारिक गन्थन बढी नै छ । राजधानीको नजिक काँठक्षेत्रमा सान्वीजस्तो शिक्षित र जागिरे नारीले भोगेजस्तो कठोर बुहार्तन अझै पनि छ त ? यो सोचनीय छ ।

    उपन्यासको भाषा बौद्धिक भए पनि प्रस्तुतिमा मिठास छ । विभिन्न शीर्षकका २७ परिच्छेदमा संरचित यो उपन्यास पाठकहरुले पढ्दा अवश्य नै फरक स्वाद पाउनेछन् । नारी मनोभावना र नारी संवेदनाका रङ्गहरुलाई नियाल्दै उसको स्वतन्त्रताप्रतिको चाहलाई सम्मान गर्नेछन् । प्रेमको वासन्ती उच्छवासमा मजैले रमाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार