नयाँदिल्ली : भारत सरकारको सूचना तथा प्रविधि सम्बन्धी संसदीय समितिले केहीअघि ट्वीटरका सिईओ ज्याक प्याट्रिकडोर्सेलाई संसदमा उपस्थित हुन बोलाएको थियो । तर भारत सरकारको उक्त संसदीय समितिको आग्रहलाई ज्याकले अस्वीकार गरेका छन् ।
ट्वीटरले ज्याकको सट्टा कम्पनीका ‘पब्लिक पोलिसी’ प्रमुख कोलिन क्रोवेललाई पठाउने निर्णय गरेको थियो । संसदीय समितिले ट्वीटरले कनिष्ठ अधिकारीलाई पठाउन खोजेकोप्रति असन्तुष्टी व्यक्त गरेको थियो । फेब्रुअरी २५ अघिसम्म ट्वीटरका मालिक ज्याक नै स्वयं भारतको संसदमा उपस्थित हुन संसदीय समितिले आग्रह गरेको छ ।
ट्वीटरमा नागरिकका डाटाको गोपनियताबारे ब्यापक चासो उठिरहेको छ । डाटालाई कसरी सुरक्षित गर्ने र आगामी चुनावमा त्यसलाई प्रभावित पार्ने गरी सोसल मिडियाको दुरुपयोग हुनसक्ने बारे छलफल गर्नका ज्याकलाई बोलाइएको हो । ज्याकले भारतको संसदमा उपस्थित हुन नसक्ने जवाफ पठाएका थिए ।
ट्वीटरलाई नागरिकका डाटा दुरुपयोग गरेको र राजनीतिक पूर्वाग्रह राखेको आरोप छ ।