विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार प्रकट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २६, २०७९

  • काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।”

    प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भन्नुभएको छ, “तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”

    प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

    उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्र्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी , जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार