फेरिएको डोल्पा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ४, २०७९

  • डा. अखण्ड उपाध्याय

    गाउ गाउमा सिंहदरबार, जनताले पाउनु पर्ने सेवा सुविधा आफ्नै ठाउबाट सहज रुपमा पाउँछन् । जनताले चुनेका जनप्रतिनिधि जसले जनताको समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकार साग समन्वयकारी भूमिका खेल्ने विषयमा नेपालको संविधानमा स्पष्ट व्यवस्था भएको छ । तर, बिडम्बना गाउ-गाउमा सिंहदरबार सहितको व्यवस्था अझै पनि जनताले आभास गर्न भने पाएका छैनन् । आज पनि दुर्गम जिल्लाका आम जनता स्वास्थ्य सम्बन्धि सामान्य जानकारीबाट बञ्चित छन् ।

    नेपालकै दुर्गम जिल्ला डोल्पा, सडक सञ्जालले भर्खरै कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरलाई छुँदै नेपालगञ्जसँग जोडिएको छ । तर, जोखिमपूर्ण र असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छँदैछ । वर्षौंदेखि दु:खका चाङ उस्तै छन् । मात्र स्वरुप फरक, हिजो सिटामोल खान नपाएर मृत्युवरण गर्नुपथ्र्यो । आज सिटामोल पाइन्छ । तर, भनेको समयमा नपाएर । हिजो गर्भवति हँुदा घरैमा मृत्युवरण गर्न बाध्य थिए । आज अस्पताल पुग्दा नपुग्दै मृत्युवरण गर्न बाध्य छन् । हिजो चामलका लागि घण्टौं लाईन लाग्नु पथ्र्यो । आज पर्दैन । हिजो फोन गर्न जिल्लामै आउनु पथ्र्यो ।

    आज गााउ(गाउमा मोबाईलको नेटवर्क छ । तर, कुरा गर्न अग्लो डाँडा अथवा रुखनै चढ्नु पर्छ । यि माथि उल्लेख गरिएको घटनाहरु केहि थान उदाहरण मात्र हुन् । तर, वास्तविकताभित्र लुकेका समस्याहरु जहाँको त्यहि छन् । आठ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा दुई वटा नगरपालिका अनि ६ वटा गाउपालिका छन् । जिल्लाले अघिल्लो पटक प्रदेशमा र केन्दमा मन्त्रि पनि पायो तर बिडम्बना मन्त्रिको काम उपभोक्ता समिति गठन गराउने बाटो खन्ने, खोलाको बिचमा पार्क बनाउछौं भन्दै बजेट हाल्ने बाहेक खासै केहि भए जस्तो लागेन ।

    प्रत्येक पटक संसदसम्म प्रतिनिधि पठाउने डोल्पालिहरुको समस्या जहाको त्यहि छन् । अझ भनौं आज पनि सामान्य औषधिको अभावमा मृत्युवरण गरिरहेका छन् । यातायातको अभावमा प्लेन कुर्दा कुर्दै मर्न बाध्य छन् । सामान्य हात खुटा भाँचिदा अप्रेशन गर्न पनि उहि नेपालगञ्ज सुर्खेत र काठमाण्डौँ लाखौं खर्चेर जानु पर्ने बाध्यता जहाँको त्यहि छ । यस्तै समस्याहरुको कैयौं पटक साक्षि म आफै बनेको छु । २०७८ साल भदौ १० गते यस अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम गर्न आए र असोजबाट चिकित्सा शाखा प्रमुखको रुपमा रहि काम गर्दै आएको छु । भदौ १० देखि हालसम्म पैसाको अभावका कारण सामान्य जाँच गर्न नसक्नेदेखि रुघा खोकि जचाउन रिफर कागज बनाईदेउ भन्दै आउने बिरामि भेटेको छु ।

    १६ वर्षमा रमाईलो मै गर्भ बोकेर बिना संकोच गर्भपतनका लागि आउने नानि देखि ४५ वर्षको उमेरमा गर्भ बसेर आएको आमा भेटेको छु । अस्पतालसम्म नआएर, घाउमा गोबर माटो र खोटो (सल्लोको चोप) लगाएर बसेका बिरामि भेटेको छु । त्यस्तै ३० मिनेटको बाटोमा पर्ने बर्थिङ सेन्टरमा नगएर घरैमा बच्चा जन्माएर भेडाको उनको धागोले नाभि बाँधिदिने जमात भेटेको छु । हिउँमा हप्ता दिनसम्म सामान्य जुत्ता लगाएर हिंड्दा हिउँले खाएका खुट्टाको औंला जचाउँन खल्तिमा १ रुपंैयाँ नबोकि ४ दिन सम्मको भोको पेट बोकेर आएका कामदार भेटेको छु ।

    गाउमै सुत्केरी गराईदिने दक्ष प्रसुतिकर्मि नहुँदा राष्ट्रपति महिला उद्धारको हेलिकप्टर कुर्दै २ दिनसम्म प्रसव पीडा सहेर बसेका आमा भेटेको छु । डाक्टरले लेखिदिएको औषधि किन्न नसक्दा गरिबिलाई सराप्दै ओपिडिबाट निस्केका बा(आमा भेटेको छु । घरमै पनि अक्सिजन चाहिने बिरामि अक्सिजनको व्यवस्था गर्न नसकेर अस्पतालकै शैयामा मृत्युवरण गरेको देखेको छु । यति मात्र होइन वर्षौ देखि अपांग भएर पनि राज्यको सुविधाबाट टाढा भएका जनता देखेको छु । समग्रमा भन्दा समस्या र दु:खको दहबाट बाहिर आउन हात खुट्टा फट्फटाई रहेका गरिब जनता भेटेको छु ।

    यस्ता जनता भेट्दा हरेक दिन सोच्छु, आखिर हाम्रो समस्या दुर गरिदिन्छन् भन्दै हरेक पटक फगत भोट हामी किन हालिरहेका छौं, किन सक्दैनौं ? कि रोल्पाका जनताको जस्तो चुनाव बहिस्कार गर्न ? हाम्रा दु:खका पहाड घटेर २० को १९ हुँदैन भने फगत भोट हालेर केहि निश्चित जमातलाई किन सत्ता र शक्तिमा पुर्‍याईरहेका छौं ?

    २२ वर्षको युवक जसको आन्द्रामा प्वाल परेको पत्ता लाग्छ डोल्पा अस्पतालमा । उपचारका लागि नेपालगञ्ज अथवा काठमाण्डौँ तुरुन्तै जाउ भनेर रिफर लेख्छौं । तर, पैसा खोज्नु पर्छ भन्दै १ दिन सापट माग्छ । बिरामिको समस्याले १ मिनेट पनि सापट दिन मिल्दैन भन्छ । अर्को दिन ऋण जोहो गरेर नेपालगञ्ज गएर अप्रेशन गरेर कहि हप्तापछि जिल्ला फर्केपछि उ बिरामि उपचार गराउन जाँदा लागेको ऋण तिर्न अपांगता सिफारिस बनाईदेउ किनकि भत्ता आउँछ । र, त्यहिंबाट ऋण तिर्छु भनेर भन्छ । त्यस्तो भन्दा निणय गर्न नसकेर एक पटक सोच्न बाध्य बनाउँछ अनि भन्नु पर्छ ऋण तिर्न अरु केहि काम गर यो नियम विपरितको काम हो भनेर । यस्तो बेला लाग्छ राज्यले आजसम्म बजेट त धेरै पठायो होला । नेताले स्वास्थ्यमा भन्दै थुप्रै बजेट माग पनि भयो होलान् । तर, स्वास्थ्य स्थिति वर्षै देखि यस्तै किन त भनेर ? एउटा गरिबले आफ्नो उपचारको ऋण तिर्न भत्ताको आशा कहिलेसम्म गरिरहने ?

    यति मात्र होइन गरिबिका कारण उपचार गराउन नसक्नेहरुको भिडमा यसै डोल्पा जिल्ला अस्पतालमा आधुनिकताको रंगमा आफ्नो कुमारित्व गुमाई सकेपछि पनि कुनै डर र भय नभएका बहिनिहरु भेटेको छु । भर्खर ९, १० कक्षा पढ्ने, १६ देखि १९ वर्ष सम्मका अविवाहित बहिनिहरु टिकटक, फेसबुक, युट्युव लगायत अश्लिल चलचित्रबाटै सिकेर अफेयर चलाएर रमाइलो र अनुभवकै लागि असुरक्षित यौन सम्पर्क गरेर गर्भमा ८ हप्ताको बच्चा बोकेर ओपिडिमा आएको भेटाएको दिन भाउन्न छुटेर आउँछ । हिजो हामी यिनै विद्यालयमा पढ्दा केटि साथीसँग एउटै बेन्चमा बस्न डराउथ्यौं । लाज मान्थ्यौं । आज समय फरक छ । आधुनिकताको नाममा विकृति मौलाई रहेको छ ।

    जिम्मेवार पक्षहरु लाई यि र यस्ता कुरा थाहा छ । तर, कसैले बोल्दैनौ । कति किशोरीहरु त १३ देखि १४ हप्तामा आउँछन् जचाउँन अनि अस्पतालमा हामीले गर्भपतन गर्न सक्दैनौ भनेपछि बजारमा गएर आफै औषधि किनेर खाएर अत्यधिक रक्तस्राव भएर पनि आउँछन् । यसरी आधुनिकताको नाममा किशोर किशोरीबिच देखिएको डर लाग्दो सामाजिक समस्यालाई समाधान गर्न अभिभावक, समाज, विद्यालय अनि सरकारले विद्यालयबाटै केहि कदम चालेमा होला नभए भोलिको स्थिती भयावह नहोला भन्न सकिदैन ।

    जिल्ला अस्पतालको ओपिडिमा जचाउँन आएका एक जना बा सँग कुरा गर्दै जाँदा थाहा पाएँ । यहाँ आज पनि विष जरो होस् या त कुनै बिषालु च्याउ खाएर बान्ता गराउनु पर्यो भने कुकुरको दिशा खुवाईने रहेछ भनेर । डोल्पा कै एक गाउमा जंगलमा पाईने एक बिषालु फल खाएर घरमा आएका वालवालिकालाई बान्ता गराउन कुकुरको दिशा घोलेर खुवाएर घरमै राख्दा २ दिनपछि मृत्युवरण गरेछन् । अस्पतालमा आउन करिब ३ घण्टा लाग्ने भएपनि उनीहरुलाई घरमै उपचार भै हाल्छ भन्दै जानी जानी हत्या गरिन्छ । यो त थाहा भएको घटना भयो । यसरी अस्पतालमा लग्दा सजिलै ज्यान जोगाउन सकिने हुँदा हुँदै पनि किन मान्छेहरु विद्यालयमा पढ्दा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढिरहँदा पत्रपत्रिकामा बाटोमै सुत्केरी भनेर छापिने समाचारले ध्यान खिच्थ्यो ।

    र, सोच्थें आज समयमा पनि यस्तो हुनेरहेछ भनेर । तर, डोल्पामा आईसकेपछि कैयौं पटक अस्पतालमा पुग्न नपाएर बाटोमै सुत्केरी भएका आमाहरु पनि भेटेको छु । अस्पतालसम्म आउन बाटो सहज छैन अनि अझ एम्बुलेन्स आउने त कुनै बाटो नै छैन । त्यस्तो अवा बजारबाट हिंड्दै आउने क्रममा बाटोमै सुत्केरी हुन बाध्य छन् कैयौं आमाहरु । तैपनि हाम्रो सांसद र मन्त्रि बनेका अनि स्थानिय तहको बागडोर सम्हालेका नेताहरुले अस्पताल सम्म पुग्ने बाटोको स्तर उन्नति सम्म गर्न कदम चालेका छैनन् ।
    अझ बेलि ब्रिज त झन् टाढाको कुरा भयो । बडाहरुको बर्थिङ सेन्टरमा सुत्केरी हुन जाँदा सामान्य औषधिको अभावमा ज्यान गुमाएका आमाहरु देखेको छु । घरमा २ छोरि छँदै पुन: अर्को छोरी जन्मिदा सुत्केरी आमाले अब त सासु लगायत घर परिवारले घर बस्न दिन्न् भन्दै धरधरि आँसु खसाएका आमाहरु भेटेको छु ।

    ज्यामि काम गर्न रुकुमबाट उपल्लो डोल्पा आएका, अनि एक्कासि हिउँ पर्दा, हिउँमा सामान्य कपडाको जुत्ता लगाएर हप्ता दिन हिंडेर दुनै फर्कदा खुट्टामा समस्या आएको भनेर जचाउन इमर्जेन्सीमा आएको र अस्पतालमा चेक जाँच गर्दा हिउँको चिसोले खुट्टाको औंलाहरुमा रक्तसञ्चार कम भएकोले खुट्टाका औंलाहरु काट्नु पर्ने स्थीति आएको अवस्था देखेको छु ।

    थप बाँकी उपचारका लागि अब काठमाण्डौँ जानु भन्दा घरसम्म जाने पैसा मात्र भएको भए त्यहा गएर उपचारका लागि पैसा जोहो गरेर जान्थ्यौं भनेर भन्ने बिरामिलाई आफैले २ हजार रुपैंयाँ दिएर पठाउँदा सोच्छु राम्रा जुत्तामा सामान्य खराबि आयो भनेर फाल्ने हामीहरुलाई यस्तै पीडा भएको भए ? अथवा खल्तिमा एक रुपैंयाँ नहुँदा चिकित्सकले खुट्टा काट्नु पर्ने हुन सक्छ भन्दा उनिहरुको मन अनि दिमाग कस्तो भयो होला ? आखिर केहि कमाउँला भनेर ज्यामि काम गर्न ज्यान जोखिममा राखेर हिडेकाहरु अब हिड्नै नसक्ने भए भने उनको परिवारले कसरी खालाा ?

    दोस्रो सन्तानलाई जन्म दिन गाउको बर्थिङ सेन्टरमा जानु भएकि एक आमा बच्चा जन्माईसकेपछि रगत बग्न थालेछ । सुत्केरी पश्चात् रगत बग्ने समस्याको उपचारका लागि आवश्यक औषधि नभएको र चढाउनका लागि सलाईन पानी सम्म नभएको अवस्थामा तिनै आमा केहि समय पश्चयात मृत्युवरण गर्न पुगेको थिन् । यसरी गाउ–गाउमा सरकार भएपनि एक जना आमाले सामान्य औषधिको अभावमा मर्नु पर्छ भने त्यस्तो लापरबाहिलाई राज्य संरक्षित हत्या भन्दा अनुपयुक्त पक्कै नहोला । बर्थिङ सेन्टरमा सामान्य औषधि नराख्ने अनि आवश्यक कर्मचारि पुर्णरुपमा नराख्ने र सेवा लिन आउने आम सर्वसाधारणले समय समयमा औषधि अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता बाट मुक्त कहिले पाउलान् ?

    कुनै लेखकले कर्णालीलाई प्रतिबिम्ब बनाएर भनेको अहिले पनि सम्झन्छु । ‘हाम्रो मा त घाम पनि अस्ताउन मात्र आउछ होला भनेर’ हो त्यस्तै देखेको छु अनि भोगेको छु । मैले यहाँ आईसकेपछि । घरमा ६ वटा बच्चा सबै छोरीहरु, अनि घर परिवार र समाजको कचकच सहन नसकि श्रीमान् सँगको सल्लाहमा ४५ वर्षको उमेरमा पुन गर्भधारण गरेर अस्पतालमा जचाउँन आउनुभएको आमा जसको जिज्ञासा, बच्चा पेटमा बसेपनि गाउलेले थाहा नपाउने गरि पेट ठुलो नबन्ने औषधि माग्न आएकी आमाको उपचार के हुन्छ भनेर मैले पढेका किताबमा आज सम्म भेटाएको छैन ।

    तर, यत्रो आशा बोकेर ४ देखि ५ घण्टाको बाटो हिंडेर आउनु भएकि आमालाई जसोतसो सम्झाएर पठाएँ । त्यसपछि उनी फर्केर आएकी छैनन् । थाहा छैन गाउलेको डरले पेट देखाउन नचाहने आमा गाउको माथी गोठमा छिन् कि अथवा अन्त कतै जहाँ उनका कुनै गाउले नदेख्ने ठाउ । यसरी बाध्यतामा जिउन बाध्य यि आमा प्रतिनिधि मात्र हुन् । यस्तै आमाहरु थुप्रै छन् । कोहि ४५ को उमेरमा बच्चा राख्न चाहने अनि कोहि बच्चा चाहे पनि कसैले गर्भवति छ भन्ने थाहा नपाउन् भन्ने अवस्थामा संघर्ष गरिरहेका ।

    डोल्पा मै जन्मेर यहि हुर्केपनि यस्ता समस्या र बाध्यतासँग नजिक भएर काम गरेको मैले पछिल्लो १८ महिना देखि हो । सुत्केरी आमा बितेपछि जिउँदो बच्चालाई खुवाउने दुधको अभावमा हजुरआमाले काखमा च्यापेर बच्चाको तौल थोरै भयो, खाने कुरा केहि पाउँछ कि भन्ने आशमा आएकि हजुर आमाको अनाथ नातिनिलाई चेक जाँच गर्दा कुपोषित अनि निमोनिया भएको पायौं । केहि बट्टा ल्याक्टोजिन दुध किनि दियौं । कडा खालको कुपोष्ण भएकाले नागरिक समाज अनि चिकित्सक आफैले खर्चको जोहो गरेर सुर्खेत पठाएर उपचार सुरु गरायांै । र, त आज नानिको तौल बढेर नानि खेल्ने भएकि छिन् ।

    हो यि माथि भनेका जस्तै समस्याको चाङमा चलिरहेको छ डोल्पा । बाबु-आमा भन्दा बढि माया गर्ने सरकारी बजेट अनि कार्यक्रम स्थानिय सरकारले पनि सहि ठाउमा प्रयोग गर्न सकेका छैनन् । त्यसैले आज बेला–बेला औषधि अभावमा बिरामि मर्न बाध्य हुन्छन् । अझै पनि अशिक्षाले यसरि किलो गाडेर बसेको छ कि हामीले दिने सल्लाहले कामै गर्दैन, यदि अशिक्षाले होइन भनेर कसैले भन्छ भने, चोट लागेर भाँचिएको हातको पहिलो उपचार सिलाजीत र सल्लोको चोप लगाएर एक हप्तासम्म घर बस्ने थिएनन् होला ।

    देशको राजधानि र मोफसलका शहरमा अमेरिकामा महंगोमा हुने उपचार सहज र सस्तोमा हुन्छ भने यहि देशको डोल्पामा एपेन्डिसाईटिस भएमा एक लाख रुपैंयाँ खर्चेर नेपालगञ्ज सुर्खेत जानुपर्छ । यस्तै दु:खी अनि गरिब डोल्पाली जनताको घाउमा मलम लगाउन केहि हदसम्म सहयोग गर्न आज पनि हामी चिकित्सक तथा स्वास्थ्यकर्मिहरु लागि रहेका छौं । भनिन्छ, आश गरे अग्रास पलाउँछ । स्वास्थ्य सेवा जनताका लागि अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवालाई बास्तवमै सुदृढ र सेवामुलक बनाउँदै प्रत्येक नागरिकलाई राज्यबाट गुणस्तरीय स्वास्थ्य सेवामा प्रत्येक व्यक्तिको सहज, सुलभ र समान पहुँचको अधिकार सुनिश्चित गराउन आवश्यक छ ।

    लेखक डोल्पा जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार