काठमाडौँ । विज्ञहरूले मिडिया उद्योगको माग र समाचार कक्षको आवश्यकता अनुसार पत्रकारिता शिक्षामा सुधारको खाँचो औँल्याएका छन् । मदन भण्डारी मेमोरियल कलेज, पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा बुधबार काठमाडौँमा भएको प्राज्ञिक विमर्श शृंखला अन्तर्गत गरिएको अन्तरक्रिया कार्यक्रममा मिडिया सम्बद्ध विज्ञहरूले परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्र संगसँगै समयानुकूल व्यवहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्ने बताएका हुन् ।
‘ट्वेन्टी फस्र्ट सेन्चुरी मिडिया एजुकेसनः कनेक्टिङ क्लासरुम विथ् न्युजरुम’ शीर्षकमा भएको कार्यक्रमा मुख्य वक्ता एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितले नेपाली समाजलाई दिशानिर्देश गर्न पत्रकारहरूले फ्रन्टलाइनरको भूमिका खेलिरहेको बताउनुभयो । दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक मुलुकका रुपमा नेपालको छवि पत्रकारहरूसमेतको योगदानका कारण सम्भव भएको उहाँले बताउनुभयो । “पेशाकर्मीका रुपमा मात्र नभई पत्रकारहरूले नागरिकका रुपमा समेत समाजमा भइरहेका कार्यहरू खोज्ने, छाम्ने र पाठकसम्म पु¥याउने काम गरिरहेका छन् । तर, वृहत्तर समाजबाट यसको सही ढंगले प्रशंसा भइरहेको छैन”, दीक्षितले भन्नुभयो, “पत्रकारिता पढाउने भनेको समाज पढाउने हो । तसर्थ, पत्रकारिता पढ्न चाहनेलाई लिबरल आर्ट्स पढाउनुपर्छ ।”
दीक्षितले पत्रकारिताका विद्यार्थीलाई इतिहास, भूगोल, अर्थशास्त्र र राजनीतिशास्त्र अनिवार्य पढाउनुपर्ने बताउनुभयो । समाजमा पत्रकारको भूमिका र योगदान बुझाउन सकियो भने त्यसले स्वतः जो कसैलाई पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो । पत्रकारहरूलाई लेखनशैली सँगसँगै ज्ञानभण्डारले पनि सुसज्जित गर्नुपर्ने उहाँले बताउनुभयो । कहिले–कहिले पत्रकार पनि नागरिक हैसियतमा सडकमा उत्रिनुपर्ने अवस्था आउने भन्दै दीक्षितले सबैतिरबाट ‘सन्तुलन र नियन्त्रण’ भई त्यस्तो अवस्था नै नआओस् भन्ने चाहना व्यक्त गर्नुभयो । नेपालले संघीय संरचनाको अभ्यास गरिरहेको सन्दर्भमा अब मिडियाहरू पनि आफूलाई त्यस रुपमा प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयो । अब प्रादेशिक स्वाद र संरचनाका मिडिया आवश्यक भएको उहाँको भनाई छ ।
रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभाग प्रमुख श्रीराम पौडेलले पत्रकारले गर्ने सामान्य कार्यहरू अब प्रविधिले गर्न थालेको भन्दै सोअनुसार पठानपाठनमा सुधार ल्याउन नसकिएको स्वीकार्नुभयो । “सूचना र प्रविधिमा ठूलो परिवर्तन आइसक्यो तर त्यसलाई बुझ्ने र अबलम्बन गर्ने गरी संरचना बनाउन हामीले सकेका छैनौँ”, पौडेलले भन्नुभयो, “पाठ्यक्रम विकासदेखि शिक्षण–सिकाइसम्ममा सुधार गर्नुपर्ने आवश्यकता छ ।” मिडिया उद्योगमा कार्य अनुभव भएका जनशक्तिलाई कक्षाकोठामा शिक्षकका रुपमा भित्र्याउ“न सके विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्न सकिने उहाँले बताउनुभयो ।
सेतोपाटी डट्कमका प्रधान सम्पादक अमित ढकालले विश्वविद्यालय तथा कलेजहरूलाई पढाउने भन्दा सिकाउने कार्यमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो । “पढ्ने कुरा विद्यार्थीलाई घरमा पढ भन्ने र कक्षाकोठामा बजारमा आवश्यक सीपहरू सिकाउने हो”, ढकालले भन्नुभयो, “विषयबस्तु ग्रहण गर्ने र बुझ्ने गहिराई तथा सीप दिन सकिएमा त्यस्ता विद्यार्थीहरूले पत्रकारितामा योगदान दिन सक्छन् ।” त्यसका लागि कक्षाकोठालाई समाचार कक्षका रुपमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।
मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेल उच्च शिक्षामा विद्यमान समस्याहरूलाई उजागर गरी समाधान खोज्न कार्यक्रमले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । “धेरथोर सबै संकाय तथा विषयहरूको समस्या यस्तै हो, यो छलफलले उठाएका विषयहरूलाई समाधान गर्न सबैको प्रयत्न आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा काठमाडौँका विभिन्न शिक्षण संस्थाहरूमा पत्रकारिता पढाउने शिक्षकहरू तथा पत्रकारहरू सहभागी थिए । पत्रकारिता पढाउने प्राज्ञिक निकाय र समाचार कक्ष एक अर्काका परिपूरक भएकाले यी दुईबीच सुमधुर सम्बन्ध स्थापित गर्न बहसको आयोजना गरिएको मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख रघु मैनालीले जानकारी दिनुभयो । प्राज्ञिक विमर्श शृंखलाअन्तर्गत आउँदा दिनमा पनि नियमित विभिन्न कार्यक्रमहरू आयोजना गरिने उहाँले बताउनुभयो ।