कोपा डेल रे को फाइनलमा पुग्न रियल र बार्सिलोनाको भिडन्त


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १५, २०७५

  • काठमाडौं , फागुन १५। काठमाडौँ – स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिड र बार्सिलोना आमने-सामने हुँदैछन् । पहिलो लेग १-१ को बराबरीमा सकिएको खेलको दोस्रो लेग रियल म्याड्रिडको मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ ।

    पहिलो लेगमा रियलले बार्सिलोनालाई दबाबमा राख्दै अग्रता पनि लिएको थियो । लुकास भाज्केजको गोललाई ब्राजिलियन माल्कमले बराबरीमा ल्याएका थिए । त्यसयता रियलले लिग खेलमा जिरोनासँग घरेलु मैदानमा पराजित भयो । लेभान्तेविरुद्ध पनि विवादास्पद रुपमा जित दर्ता गर्यो । सन् १९९३ यता रियल दोस्रो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

    यता बार्सिलोना भने पछिल्लो चार सिजन लगातार यस उपाधिमा कब्जा जमाउँदै आइरहेको छ । बार्सिलोनाले पछिल्लो साता सेभिल्लालाई ४-२ ले पराजित गर्दै बलियो दावेदारी प्रस्तुत गरेको छ । त्यसअघि लगातार बराबरी खेलेको बार्सिलोनासँग यस खेलमा भने जितको विकल्प रहने छैन । बार्सिलोना लगातार छैटौं सिजन फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

    बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भालभेर्डे बार्सिलोनाको प्रशिक्षकका रुपमा सयौं खेलको जिम्मेवारी लिँदैछन् । उनले फाइनल पुगे बार्सिलोनाका लागि चौथो उपाधि नजिक पुग्नेछन् । मिडफिल्डर आर्थर मेलो चोटका कारण बाहिर रहँदा स्यामुएल उम्टिटीको पुनरागमन भने टोलीको लागि सुखद पक्ष हो ।

    सर्जियो रामोस रियलको सुरुवाती रोजाइमा फर्कंदा इस्को भने अझैपनि चोटका कारण मैदान बाहिर नै रहेका छन् । मार्कोस लोरेन्टे पनि उपलब्ध छैनन् । ग्यारेथ बेल र करीम बेन्जेमाको जोडीलाई सोलारीले बलियो रुपमा प्रस्तुत गर्ने आंकलन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार