दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २२, २०७९

  • शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।

    विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिनुभएको थियो । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।
    आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका उहाँका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उहाँ पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।

    लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताउनुभएको बुढामगरको भनाइ उल्लेख गर्दै विभागका महानिर्देशक लुइँटेलले बताउनुभयो ।

    सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उहाँ पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसक्नुभएको छ ।

    वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

    सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार