निस्कोट बराह तालको जैविक विविधता नासिँदै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २३, २०८०

  • गलेश्वर, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे तर पछिल्लो समय यहाँका रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका स्थानीय टेकबहादुर पुनले बताउनुभयो ।

    निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा ताल हेर्न पाइन्छ । झण्डै दुई रोपनीमा फैलिएको तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको ताल अवलोकनमा आउनुभएका पोखराका धनमणि अर्मजाले बताउनुभयो ।

    रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

    समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित ताल र आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छायाँ) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।

    पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ ।

    ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्न पुग्ने गरेका छन् । तालको पर्यटन प्रवद्र्धन गर्न यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम गर्न पालिकामार्फत आवश्यक पहल गरिने वडाध्यक्ष पुनले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार