‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख ३१, २०८०

  • राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।

    पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरेको हो ।

    उपाधिसहित आर्मी रु एक लाख ५० हजार र उपविजेता बनेको पुलिस रु एक लाख रकम प्राप्त गर्न सफल भएका छन् । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान ओगटेको छ । एपीएफले रु ५० हजार र कर्णालीले रु २५ हजार प्राप्त गरेको छ । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । उहाँले रु दश हजार हात पारेको छ ।

    यही वैशाख २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश गरी पाँच प्रदेश, तीन विभागीय क्लब तथा आयोजक गरी नौ टोली सहभागी थिए ।

    राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई ‘बिच’ भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुवात गरिएको हो । खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार