सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउने अस्त्र सूचनाको हक


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ १४, २०८०

  • काठमाडौँ, १४ जेठ । सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिनुभएको छ ।

    सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सांसद लक्ष्मी तिवारीले नागरिकले सार्वजनिक निकायमा सूचनाको हक प्रयोग गरी सूचना माग गर्दा अनियमितता र भ्रष्टाचारका घटना हुन नपाउने बताउनुभयो । नागरिकमा सूचनाको हकका बारेमा जागरण फैलाउन सके सार्वजनिक निकाय पारदर्शी र जवाफदेही बन्ने भएकाले यसमा अभियानकर्मीको ध्यान जानुपर्ने सूचनाको हकको अभियानकर्मीसमेत रहनुभएकी उहाँको भनाइ थियो ।

    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्यले नागरिकलाई चाहिएको साना–साना कुरा उपयुक्त प्रश्नका माध्यमबाट सार्वजनिक निकायबाट सूचनाका रूपमा माग गरी ओहोदामा बस्नेलाई जिम्मेवार र जवाफदेही बनाउन सकिने बताउनुभयो । सूचना माग गर्दा माग्न खोजेको विषय भने प्रष्ट हुने गरी सूचना मागकर्ताले अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    तालिममा वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘महिला अधिकार र सूचनाको हक’, डा पवन साहले ‘स्वास्थ्य अधिकार र सूचनाको हक’, समाजशास्त्री दीपेश घिमिरेले ‘युवा अधिकार र सूचनाको हक’, सूचनाको हकका अभियानकर्मी कृष्ण सापकोटाले ‘सार्वजनिक वित्त र सूचनाको हक’ विषयमा तालिम दिनुभएको थियो ।

    आइतबारसम्म चल्ने प्रशिक्षणमा सातै प्रदेशका गरी २५ जना अभियानकर्मीको सहभागिता रहेको महासङ्घका अध्यक्ष उमीद बागचन्दले जानकारी दिनुभयो । प्रशिक्षणपछि प्रशिक्षार्थीले सातै प्रदेशका जिल्लामा सूचनाको हकका विषयमा जागरणमूलक अभियान चलाइने महासङ्घले जनाएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन शनिबार प्रमुख आयुक्त महेन्द्रमान गुरुङले गर्नुभएको थियो ।–––

    प्रतिक्रिया
    सम्बन्धित समाचार